देउवाले बोलाए संस्थापन पक्षको पदाधिकारी र पूर्वपदाधिकारी बैठक

काठमाडौँ : संस्थापनइतर पक्षले विशेष महाधिवेशन डाक्न भन्दै कानुनी परामर्श थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आफ्ना पक्षका पदाधिकारी र पूर्वपदाधिकारीलाई निवासमै डाकेका हुन् । तर, बैठकमा संस्थापनइतर पक्षका पदाधिकारीलाई नडाकिएको सो पक्षका एक पदाधिकारीले पुष्टि गरे।

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएर असोज २८ मा उपचारका लागि बिदा लिएका देउवाले कार्यवाहक फिर्ता लिएका छैनन् । त्यसयता उनी कांग्रेसका औपचारिक बैठकमा सहभागी नभए पनि संस्थापन इतरका नेता डा. शेखर कोइरालादेखि महामन्त्रीद्वय सम्मले देउवासँग उनकै निवासमा पटक–पटक छलफल गर्दै आएका छन् ।

संस्थापन पक्षका कार्यवाहक सभापतिदेखि पदाधिकारी र पूर्वपदाधिकारीसम्म देउवाकै सल्लाहमा काम गरिरहेका छन् । गत असोज २८ मा देउवा उपचारका लागि सिंगापुर गएपछि नटुङ्गिएको बैठक पनि देउवाकै सक्रियतामा मंसिर १५ मा टुंगिएको थियो।

त्यसयता सभापति देउवाले निरन्तर बैठक र छलफल जारी राखेका छन्। कांग्रेसले वैशाख २८–३१ सम्म महाधिवेशन गर्ने गरी पुस २६–२८ मा तय भएको मिति सारेपछि महामन्त्रीहरूले विशेष महाधिवेशनको गृहकार्य अघि बढाएका छन्।

यही विषयमा संस्थापन पक्षले आज रणनीति बनाउने तयारी गरेको हो।

यसैबीच, विशेष महाधिवेशनको मागलाई लिएर कानुनविद्हरूले महाधिवेशन प्रतिनिधिको बहुमतले मागेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको बताएका थिए ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शनिबार डाकेको परामर्श बैठकमा कानुनविद्हरूले विधानबमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु विधानको उल्लङ्घन हुने बताएका थिए ।

कानुनविद्हरूको तर्कअनुसार विधानको धारा १७(२) आफैँमा केन्द्रीय महाधिवेशनको कार्यविधि हो । निवेदनकर्ताले खुलाएको कारण र एजेन्डा नै विशेष महाधिवेशनका एजेन्डा हुने उनीहरूको भनाइ छ। थप कार्यविधि र एजेन्डा आवश्यक परे विशेष महाधिवेशनले आफैँ तय गर्ने राय कानुनविद्हरूले दिएका थिए।

विधानबमोजिम बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेपछि केन्द्रले विशेष महाधिवेशन बोलाउनै पर्नेमा कानुनविद्हरू एकमत देखिएका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा