October 27, 2024, Sunday
KN hd tv

प्रदेश नं २ का २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा

धनुषा – प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ।

छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जानकारी दिइन्‌। गत माघ २ गतेखि प्रदेश नं २ का १३६ वटै पालिकामा छोरी शिक्षा बीमाको शिविर सञ्चालन गरिएको थियो।

संयोजक यादवले अहिले छोरी बीमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको बताइन्‌।  उनका अनुसार महोत्तरीको लोहारपट्टि नगरपालिकाको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले यस नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भइरहेको छ। प्रदेशका सबै १३६ पालिकाले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्यालयले जनाएको छ।  सुविसु इन्टरनेट कम्पनीले बीमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ। महिला हिंसा न्यूनीकरण तथा छोरीको राम्रो शिक्षादीक्षाका लागि सञ्चालन गरिएको प्रदेश नं २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम सञ्चालनमा छ। जसमा छोरी जन्मिने बित्तिकै प्रदेश सरकारले ३७ हजार तिरेर तीन लाख रुपैयाँको बीमा गरिदिने व्यवस्था गरिएको छ। उक्त बीमाको रकम छोरीले २० वर्षपछि पाउनेछन्।

शुरुमा २०७५ मा योजना एकजना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर एक लाख रुपैयाँको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो। मुख्यमन्त्री कार्यालयसँग माघयता २६ हजार ९५६ छोरीको बीमा गरिएको तथ्याङ्क छ भने प्रभु बैंकसँग २८ हजार ४५७ छोरीको बीमाको तथ्याङ्क रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। प्रदेश सरकारले छोरी शिक्षा बीमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मका लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो।

जसमा २ माघ २०७६ देखि छोरीको बीमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता गरिएको थियो।

शीर्ष समाचार

धेरै पढिएको