फ्रान्समा फेरि किन उत्रिए लाखौँ मानिस ? आइफिल टावरमा लाग्यो ताला

काठमाडौं । फ्रान्समा आर्थिक कटौती र कठोर नीतिहरूविरुद्ध व्यापक विरोध प्रदर्शन बिहीबार फेरि चर्किएको छ । देशभरका २०० भन्दा बढी सहरहरूमा हजारौँ कार्यकर्ता, सेवानिवृत्त व्यक्ति, विद्यार्थी र नागरिकहरू सडकमा उत्रिएका छन् । पेरिसमा प्लेस डी इटालीबाट सुरु भएको र्‍यालीले पूरै सहरलाई हल्लाइदिएको थियो । देशको प्रतिष्ठित पर्यटन स्थल आइफिल टावर हड्तालका कारण बन्द गरिएको छ ।

फ्रान्सेली गृह मन्त्रालयका अनुसार, देशभर कम्तीमा एक लाख ९५ हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए, जसमध्ये पेरिसमा मात्र २४ हजार सहभागी थिए । तर, युनियनहरूले यो संख्या १० लाखभन्दा माथि पुगेको दाबी गरेका छन् ।

यो विरोध प्रदर्शन फ्रान्सका प्रमुख युनियनहरू सीजीटी, एफडीपी र सीएफडीटीद्वारा आह्वान गरिएको राष्ट्रव्यापी हड्तालको हिस्सा हो । आन्दोलन गत महिनादेखि जारी राजनीतिक अस्थिरता र २०२६ को बजेटमाथि भइरहेको गहन बहसबीच थप सशक्त बनेको छ ।

प्रदर्शनकारीहरूको मुख्य नारा थियो, “धनी वर्गहरूमाथि अधिक कर लगाउ, सार्वजनिक सेवामा कटौती बन्द गर ।”

उनीहरू सरकारको प्रस्तावित ४४ अर्ब युरोको कटौती योजनाको विरोध गरिरहेका छन्, जसमा दुई सार्वजनिक बिदा हटाउने र सामाजिक कल्याण योजनामा रोक लगाउने जस्ता कदमहरू समावेश छन् ।

पेरिसमा दिउँसो २ बजे प्लेस डी इटाली बाट सुरु भएको र्‍याली प्लेस वाउबन सम्म पुगेको थियो । प्रदर्शनकारीहरूले फ्लेयर्स बाले, ब्यानरहरू हल्लाए र सरकारविरुद्ध नारा लगाए ।

आइफिल टावर सञ्चालन गर्ने कम्पनी सोसिएटे डी एक्सप्लोइटेशन डे ला टूर एफिल का अध्यक्ष जीन–फ्रान्स्वा मार्टिन्सले अधिकांश कर्मचारीहरू हड्तालमा रहेकाले टावरलाई बन्द राखिएको पुष्टि गरे ।

टावरको प्रवेशद्वारमा एउटा बोर्ड टाँसिएको थियो, “हड्तालका कारण आइफिल टावर बन्द छ । हामी क्षमा चाहन्छौँ ।”

अनलाइन टिकट किनेका पर्यटकलाई रिफन्ड दिने व्यवस्था गरिएको छ ।

हालैका दिनमा प्रदर्शनका कारण आइफिल टावर बन्द गरिएको यो दोस्रो पटक हो । यसअघि सेप्टेम्बर १८ मा “ब्लक एभ्रिथिङ” अभियानका क्रममा बन्द गरिएको थियो ।

प्रदर्शन नियन्त्रणका लागि प्रहरीले ७६ हजार कानुन प्रवर्तन अधिकारी तैनाथ गरेको छ । विगतका र्‍यालीहरूमा धुवाँ, आगजनी र अश्रुग्यास प्रयोग भएको थियो ।

यो प्रदर्शन सेप्टेम्बर १८ को ठूलो र्‍यालीपछि फेरि सुरु भएको हो, जब पाँच लाखभन्दा बढी मानिस सडकमा उत्रिएका थिए । फ्रान्समा राजनीतिक अस्थिरता अहिले चरममा पुगेको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोंको नेतृत्वमा रहेको सरकारसँग संसदमा पूर्ण बहुमत छैन र बजेट बहस गतिरोधमा फसेको छ ।

युनियनहरूले कटौती योजनाले धनी वर्गलाई मात्र फाइदा पुर्‍याउने तर महँगी र बढ्दो जीवनयापन खर्चले आम नागरिकलाई थप प्रभावित पार्ने आरोप लगाएका छन् ।

प्रदर्शनकारीहरूले एलभीएमएचका सीईओ बर्नार्ड अर्नाल्ट जस्ता अरबपतिविरुद्ध पोस्टरहरू देखाए, जसलाई कर हेभेन्स प्रयोग गरेको आरोप छ ।

विपक्षी दल र जमीनी संगठनहरू पनि आन्दोलनमा सक्रिय सहभागी भएका छन् । युनियनहरूले वर्षको अन्त्यसम्म संसद्मा हुने बजेट विधेयकको बहसमा अझ कडा गर्ने योजना बनाएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा