वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङले भेटवार्ता गरेका छन्। त्यस अवसरमा मन्त्री शाहीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै चीनको एक घनिष्ट मित्र, विकास साझेदार र असल छिमेकीका रूपमा नेपालले सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिएको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ। दुई देशबीच विभिन्न तहमा हुने नियमित भ्रमण आदानप्रदानले विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउँदै लगेको उनको भनाइ थियो ।

मन्त्री शाहीले मानव–वन्यजन्तु द्वन्द्व, पारिस्थितिक प्रणाली पुनस्र्थापना, विपद् जोखिम न्यूनीकरण र मरुभूमि तथा सीमान्तकृत भूमिको पुनरुत्थान, बाँस र बेतको आनुवंशिक सुधारमा संयुक्त सहकार्य, काठ प्रशोधन, बाँस र बेतका उत्पादनहरू विकास, वन्यजन्तु पालन आदिमा चीनबाट प्राविधिक सहयोगलगायत विषयमा सहकार्यका लागि आग्रह गरेका थिए । उनले नेपालबाट दुईवटा गैँडा हस्तान्तरण गर्ने प्रक्रियालाई अन्तिम रूप दिने कार्य अघि बढेको अवगत गराए।

चीनको बेइजिङमा अन्तर्राष्ट्रिय बाँस तथा बेत संगठन (इन्बार) परिषद्को १३औं बैठकको अध्यक्षता गर्न शाही चीन भ्रमणमा गएका हुन्। नेपाल हाल इन्बारको अध्यक्ष राष्ट्र हो। मन्त्री शाहीले इन्बारको संस्थापक सदस्य तथा १३औं परिषद्को अध्यक्षका रूपमा नेपाल यसका कार्यक्रमहरू र १३औं परिषद् बैठकको नतिजा कार्यान्वयन गर्न तथा सहयोगका थप अवसरहरू खोज्न सबै सदस्य राष्ट्रहरूसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका थिए। सन् १९९७ मा स्थापित अन्तर्राष्ट्रिय बाँस तथा बेत संगठन एक अन्तरसरकारी विकास संठन हो, जसले बाँस तथा बेतको प्रयोग गरी वातावरणीय रूपमा दिगो विकासलाई प्रवर्द्धन गर्दछ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा