कास्की । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि आज (शुक्रबार) पोखरा जाँदै छन् । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे हेलिकप्टरमार्फत पोखरा पुग्ने छन् । कार्यक्रम पोखराको अमरसिंह चौरमा आयोजना गरिएको हो ।
प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शङ्कर पोखरेल, नेता पृथ्वी सुब्बा गुरुङलगायतले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले केन्द्रीय सदस्य तथा युवा संघ नेपालका इन्चार्ज राजीव पहरीले जानकारी दिए । महाधिवेशनमा देशभरबाट करिब २ हजार प्रतिनिधिहरू सहभागी हुनेछन् । प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राखेर पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया सुरू हुँदैछ । बिहीबार साँझ पोखरामा बसेको पदाधिकारी बैठकले नेतृत्व सकेसम्म सर्वसम्मत रूपमा चयन गर्ने प्रयास जारी राख्ने निर्णय गरेको छ । तर, पदाधिकारी संख्या १७ बाट घटाएर ९ र केन्द्रीय सदस्य संख्या ३३३ बाट १५१ मा झार्ने निर्णय भएकाले सर्वसम्मति चुनौतीपूर्ण देखिएको छ ।
४० वर्षे उमेरहदका कारण पाँच उपाध्यक्ष पद खाली भएका छन् भने अध्यक्षका लागि महाराज गुरुङ, कृष्णहरी केसी र सुमन पुरी दौडमा छन् । महासचिव पदमा महेश चौलागाईं, विनय शाह, निरोज पौडेल, कुवेर अधिकारी र पर्वत भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ । हालका अध्यक्ष क्षितिज थेवे पुनः उम्मेदवार हुने वा नहुनेबारे अझै स्पष्टता आएको छैन । नेताहरूले महाधिवेशनमा अन्तिम समयमा सहमति हुने सम्भावना पनि खुला राखेका छन् ।

