रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी नेताहरू आज विभिन्न कार्यक्रममा सहभागी हुन रुपन्देही आउँदै छन्।
प्रचण्डसहितका नेताहरू मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न रुपन्देही जान लागेका हुन्। उनी आज बिहान १०ः३० बजे भैरहवा विमानस्थल ओर्लिएर ओमसतिया गाउँपालिका–६ स्थित जमुहानी तालमा बन्ने पार्कको शिलान्यास गर्नेछन्।
त्यस्तै, दिउँसो १२ः०० देखि १२ः३० बजेसम्म प्रचण्डले बुटवल ज्योतिनगरमा पहिरो जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्नेछन्। त्यसपछि दिउँसो १ बजे बुटवलको ट्राफिक चोकमा मगर मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जिसीले जानकारी दिए।
सम्मेलनमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, सचिव चक्रपाणी खनाल, पूर्व सभामुख ओनसरी घर्ती लगायतका नेताहरूले पनि सम्बोधन गर्नेछन्।
त्यसपछि दिउँसो ३ः३० देखि ४ः०० बजेसम्म प्रचण्ड सैनामैनाको मुर्गिया रंगशालामा जारी सैनामैना गोल्डकपका विजेता टोलीलाई पुरस्कार वितरण गर्न जानेछन्। उनी आजै साँझ काठमाडौं फर्किने कार्यतालिका रहेको छ।
