राष्ट्रियसभा सदस्य पूजा चौधरी : महिलाका अधिकार र संघीयता सुदृढीकरणका लागि सक्रियता

काठमाडौं । राष्ट्रियसभा सदस्य पूजा चौधरीले आफ्नो एक वर्षे कार्यकाललाई चुनौतीपूर्ण भए पनि जिम्मेवारीपूर्वक निर्वाह गरेको बताएकी छन्। उनका अनुसार संसद्मा बोल्न अध्ययन, अनुशासन र तयारी आवश्यक पर्ने रहेछ।

चौधरीले बाढी, पहिरो, डुबान, आगलागी, भूकम्पलगायतका जनसमस्याहरू संसद्मा उठाउँदै महिला अधिकार, हिंसा अन्त्य, मधेसी समुदायका सवाल, महँगी, भ्रष्टाचार, शान्ति सुरक्षासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।

उनले संविधानअनुसार कानुन निर्माण आवश्यक रहेको भन्दै महिलासहित उत्पीडित समुदायसँग सम्बन्धित कानुन निर्माणको आवश्यकता औंल्याएकी छन्। संविधान कार्यान्वयन सरकार मात्र नभई सबै नागरिकको दायित्व भएको उनको भनाइ छ।

महिला अधिकारबारे बोल्दै चौधरीले संसद्मा प्रत्यक्ष निर्वाचनमार्फत महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिएकी छन्। उनले आर्थिक सशक्तिकरणका लागि महिलाका लागि विशेष उद्योग र कलकारखानामा सरकारी लगानी आवश्यक रहेको बताइन्।

संघीयता सुदृढीकरणका लागि निजामती सेवा, शिक्षा, प्रहरी ऐनजस्ता कानुन निर्माणको माग गर्दै उनले स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाउनुपर्ने बताइन्। सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य अनिवार्य रहेको उनको भनाइ छ।

नेपाली युवाको विदेश पलायन रोक्न रोजगारी सिर्जना र शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको चौधरीको तर्क छ। उनले मधेसी समुदायमा शिक्षाको पहुँच, गरिबी निवारण र महिलामाथि हुने हिंसा अन्त्य गर्न आफ्नो सक्रिय भूमिका रहने प्रतिबद्धता जनाइन्।

जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य चौधरी रौतहटको गुजरा नगरपालिका वडा नं ८ की स्थायी बासिन्दा हुन्। उनी विशेष गरी महिलाका अधिकार र सामाजिक न्यायका मुद्दामा सक्रिय छिन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा