डडेलधुरा — गृहमन्त्री रमेश लेखकले समाज र विज्ञान कहिल्यै पछाडि नफर्किने बताएका छन्। बिहीबार डडेलधुराको परशुराम नगरपालिकामा आयोजित परशुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै उनले राजतन्त्र फर्किने सम्भावना नरहेको स्पष्ट गरे।
‘देशमा गणतन्त्र स्थापित भइसकेको छ। केही साथीहरू राजतन्त्र पुनःस्थापनाको कुरा गरिरहनुभएको छ,’ उनले भने, ‘लोकतान्त्रिक व्यवस्थामा अलोकतान्त्रिक राजतन्त्र फर्किने सम्भावना छैन। लामो संघर्ष, त्याग र तपस्याबाट यहाँसम्म आइपुगेका छौँ। अब पछाडि होइन, अगाडि बढ्ने समय हो।’
गृहमन्त्री लेखकले समाजमा क्रान्तिकारी परिवर्तनका लागि साहित्यको योगदान अपरिहार्य रहेको उल्लेख गरे। उनले संसारभर भएका परिवर्तन र प्रगतिमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै जनताको स्वतन्त्रताको कुनै विकल्प नभएको बताए।
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो,’ उनले भने।
