मानव–वन्यजन्तु द्वन्द्वले विपन्न वर्गलाई बढी असर

काठमाडौं । मानव–वन्यजन्तु द्वन्द्वले ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गलाई बढी प्रभावित पार्ने सरोकारवालाहरूले बताएका छन् । नेपाल वन प्राविधिक संघ (एनएफए) को स्वर्ण महोत्सवका अवसरमा आयोजित ‘मानव–वन्यजन्तु द्वन्द्व र वन डढेलो व्यवस्थापन’ विषयक नीति संवादमा उनीहरूले जङ्गल नजिक बस्ने तथा प्राकृतिक स्रोतमा निर्भर रहने समुदाय वन्यजन्तुको आक्रमणमा पर्ने गरेका बताएका हुन् ।

वन अभियन्ता मिरा ढकालका अनुसार, मानव–वन्यजन्तु द्वन्द्व गम्भीर समस्या बन्दै गएको छ, जसले ग्रामीण क्षेत्रका गरिब नागरिकलाई प्रत्यक्ष असर गरेको छ । उनले घाँस, दाउरा, काठ सङ्कलन गर्ने क्रममा विपन्न समुदायका मानिसहरू वन्यजन्तुको जोखिममा पर्ने बताइन् ।

वन्यजन्तु द्वन्द्व व्यवस्थापनविद् डा. दिनेश न्यौपानेले वन अतिक्रमण, सहरीकरण र वन्यजन्तुको प्राकृतिक वासस्थान विनाशका कारण जङ्गली जनावरहरू मानवबस्तीमा प्रवेश गर्ने क्रम बढेको उल्लेख गरे । ‘खुला भान्सा, मदिरा उत्पादनको गन्ध तथा वनमा पानी र खाद्य संकटका कारण पनि वन्यजन्तु बस्तीमा पस्ने गर्छन्,’ उनले भने ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा. नरेश सुवेदीले वन्यजन्तु बस्तीमा छिर्दा मानिसले सतर्कता नअपनाउँदा द्वन्द्वका घटना बढेको बताए । ‘झिस्काउने, ढुङ्गा हान्ने र होहल्ला गर्दा वन्यजन्तु आक्रमण गर्न उक्सिन्छन्,’ उनले भने, ‘द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा निकायलाई थप तालिम तथा प्रविधि आवश्यक छ ।’

विश्व वन्यजन्तु कोषका राष्ट्रिय प्रतिनिधि डा. धनश्याम गुरुङले वन्यजन्तुको बासस्थान संरक्षण तथा घाँसे मैदानको पुनःस्थापनाले समस्या समाधान गर्न सकिने बताए । यस्तै, वन विज्ञान अध्ययन संस्थानका डिन डा. डाकुर सिलवालले परम्परागत ज्ञानलाई प्रवद्र्धन गर्दै द्वन्द्व व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक बेदप्रसाद ढकालले वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न गम्भीर छलफल आवश्यक रहेको बताए । ‘वन्यजन्तु तथा मानवबीचको द्वन्द्वलाई न्यूनिकरण गर्दै उपयुक्त समाधान खोज्नुपर्छ,’ उनले जोड दिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा