धादिङ – नीलकण्ठ नगरपालिकाका मेयर तथा नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले देशकै नमुना नगर बनाउने गरी काम गर्ने बताउनु भएको छ । आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीलकण्ठ नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक गर्दै नीलकण्ठ नगरपालिकालाई देशकै नमुना नगरको रुपमा विकसित गरिने नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले बताउनुभएको हो ।
‘दीर्घकालिन सोचका साथ तय गरिएको योजनावद्ध आयोजना र कार्यक्रमलाई निरन्तरता दिदै नीलकण्ठ नगरपालिकालाई देशकै नमुना नगर बनाउने परिकल्पनाको साथ काम भईरहेको बताउनुभएको छ । व्यवस्थित सडक सञ्जाललाई विकासको मूख्य आधारशिला मान्दै नगरपालिकाको सबै वडामा कालोपत्रे गर्ने कामलाई निरन्तरता दिएको र पाँच बर्षभित्र सम्पन्न गर्ने गरी अघि बढेको समेत बताउनु भएको छ । नगरबासीको मागलाई मध्यनजर गर्दै विकासको बजेट ल्याएको भन्दै उहाँले नगरबासीको शिर नझुक्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,–‘तिर्खामूक्त नगर स्थापित गर्न नगरपालिकाले शुरुवात गरिसकेको छ । संघीय खानेपानी आयोजना, नगर लगानी कोष र विभिन्न साझेदारहरुसँग समन्वय गरी वृहत खानेपानी आयोजनाको शुरुवात भएको छ । विभिन्न कार्यक्रम मार्फत गुणस्तरिय शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा पनि नगरपालिकाले योजना बनाएको छ ।’माटो परिक्षण गरी कृषि पकेट क्षेत्र घोषणा गरी किसानमा हौसला थप्नेछौ । २० वर्षे कृषि रणनितिक योजना अनुसार कृषि क्षेत्रको विकास र प्रवद्र्धन गरिने नगरप्रमुख ढुंगानाले बताउनुभयो । निर्वाहमूखी कृषिलाई व्यवसायिक कृषिमा रुपान्तरण गरी कृषि उत्पादनलाई जोड दिइनेछ । उहाँले भन्नुभयो,– ‘बाँदर पिडित किसानका लागि वैकल्पिक खेती र पशुपंक्षीपालनमा सहयोग गरिनेछ । नगरबासीहरुमा रोजगारी सिर्जना गर्न एक वडा एक उत्पादनको नीति ल्याइएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै उहाँले उद्योग व्यवसाय प्रवद्र्धन गर्न उद्यममैत्री निति अवलम्बन गरेको बताउनुभयो । युवालाई क्षमता विकास गरी उद्यमशिलतासँग जोड्दै स्वरोजगार बनाउने लक्ष्य रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, खेलमैत्री तथा बालमैत्री नगर, कला साहित्य, पर्यटकिय क्षेत्रको विकास, फोहोरमैलो व्यवस्थापन तथा विसर्जन लगायतको क्षेत्रमा नगरपालिकाले आगामी आर्थिक वर्षमा जोड दिएको छ ।’
यसैगरी नगर उप प्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि १ अर्ब १८ करोड ९७ लाख ०७ हजार ४७७ रुपियाँ ६६ पैसाको बजेट विनियोजन गरेको छ । दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा चालु खर्चतर्फ ८० करोड ४१ लाख ७ हजार ४७७ रुपियाँ ६६ पैसा तथा पुँजिगत खर्चतर्फ ३८ करोड ५६ लाख विनियोजन गरेको नगर उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो ।
माटो र हावापानीसँग मेल खाने कृषि उपज उत्पादनमा जोड दिदै कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक बनाउने निति अनुसार माटो सुहाउदो कृषिवाली प्रवद्र्धनका लागि ३५ लाख, पशुपन्छीको औषधि निशुल्क उपलब्धको लागि १५ लाख, मेयर उद्यमशिलता विकास कार्यक्रम मार्फत उद्यमशिलता प्रवद्र्धनका लागि ८० लाख, उद्योग वाणिज्य क्षेत्रको प्रवर्धनात्मक कार्यक्रमका लागि १५ लाख, समग्र उद्योग तथा लघु विकासका लागि एक करोड, संस्कृति तथा पर्यटन प्रवर्धनमा १ करोड ३० लाख तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका लागि १० लाख, सहकारी विकासका लागि १५ लाख, सामाजिक विकासतर्फ ८ करोड २७ लाख ३० हजार रकम विनियोजन गरिएको उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो ।
‘एक वडा एक नमुना विद्यालय’ विकास कार्यक्रम अन्तर्गत विद्यालय सुधारतर्फ २१ लाख, शैक्षिक सुधार गर्न २७ लाख, नीलकण्ठ क्याम्पसका लागि १५ लाख, शिक्षा क्षेत्रको समग्र विकासका लागि संघ र प्रदेश सरकारबाट प्राप्त थप ३ करोड ८५ लाख रुपिया विनियोजन गरिएको छ ।

