पुनः मतगणना गर्न माग गर्दै सञ्चारमन्त्री कार्कीको निवेदन

सुनसरी – सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणना हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिएका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा पुनः मतगणना गर्नुपर्ने माग गर्दै सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निवेदन दिएका छन् । कांग्रेस उम्मेदवार रहेका कार्कीका प्रतिनिधिले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणना हुनुपर्ने भन्दे निवेदन पेश गरेका हुन् ।

हिजो मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपराह्न सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो । लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कार्कीले एमाले पक्षले मतगणनामा धाँधली गरेको र आयोगकै मिलेमतोमा छ सय छ मत एमाले उम्मेदवारका पक्षमा जोडेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्कीले सो आरोप लगाउँदै सुरुदेखि नै पुनः मतगणना गर्न माग राखेका छन् । उनले आयोगकै मिलेमतोमा मत हिनामिना भएको सूचना आफूले पाएको बताएका छन् । आज बिहान पनि सर्वदलीय बैठक बसेको छ तर कांग्रेसका कार्यकर्ताले पुनः मतगणना गर्नुपर्ने माग दोहो¥याएपछि अहिलेसम्म गणना स्थगित छ ।

उम्मेदवार कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार तीन सय ४१ मत पाएका छन् । कार्की कुसियतभन्दा ९८ मत अगाडि छन् । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ । कांग्रेसले पुनः मतगणनाको अडान लिइरहेका बेला एमालेले आयोगको निर्णय स्वीकार्ने बताइरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा