एसएसपी भरत बोहोरा : हाइप्रोफाइल भन्दैमा केही फरक पर्दैन, दुधको दुध पानीको पानी छुट्याइन्छ

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि स्वतन्त्र रुपले प्रहरीले छानबिन अघि बढाउने जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले अनुसन्धान मिहिन हुनेमा विश्वसत हुन आग्रह गरेका छन्। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका लामिछानेमाथिको अनुसन्धान कसरी अघि बढ्न भन्ने नेपाल लाइभको प्रश्नमा एसएसपी बोहोराले भने, ‘कोही हाइप्रोफाइल भयो भन्दैमा अनुसन्धान नै प्रभाविति हुने भन्ने हुँदैन। दुधको दुध पानीको पानी छुट्याएर प्रहरीले अनुसन्धान गर्छ।’

एसएसपी बोहोराले आरोप लागिसकेपछि त्यही आरोपमा केन्द्रित भएर अनुसन्धान अघि बढ्ने हुँदा विगतको को के थियो, कस्तो पृष्ठभूमिको हो भन्ने विषयको केही अर्थ नभएको बताए।

१७ वर्षीया एक किशोरीले लामिछानेले आफूमाथि बलात्कार गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। पीडित भनिएकी १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै उजुरी दिएकी छन्। 

सन्दीपले ती किशोरीलाई काठमाडौं, भक्तपुर र नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले प्रहरीसमक्ष बयान दिएकी छन्।

पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेका हुन्। 

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको भनाइ छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराइसकेको छ। एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वाथ्य परीक्षण गराइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। 

पीडित भनिएकी किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत नजिकिएका थिए। स्न्याप च्याटमार्फत चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ। आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते बिहान ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ। 

त्यसपछि उनीहरु नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ छ। काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरु बसेका थिए। सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीको भनाइ छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा