अन्तिम नामावली प्रकाशनपछि रोकिएको कांग्रेस काठमाडौं महानगरको अधिवेशन आज

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसको हिजो रोकिएको काठमाडौं महानगरपालिकाको अधिवेशन आज (आइतबार) सकिँदैछ । हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि रोकिएको अधिवेशनअन्तर्गत आज बिहान ९ बजेदेखि मतदान हुनेछ ।

राष्ट्रिय सभा गृहमा दिउसो १ बजेदेखि मतदान हुनेछ । नगर कमिटीको सभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा भइरहेको छ ।

शाक्य प्रकाशमान सिंह र गगन थापा समुहको साझा उम्मेदवार हुन् भने रञ्जित शेरबहादुर देउवा र भिमसेनदास प्रधान समूहको उम्मेदवार बनेका छन् । उपसभापति पदका लागि सन्तकुमार महर्जन, सुशीला ढकाल, सुबरिनाथ खनाल र भरत तण्डुकारको उम्मेद्वारी परेको छ । काठमाडौं महानगरमा तरुण दलका केन्द्रीय सदस्य समेत रहिसकेका निलकाजी शाक्यले उम्मेद्वारी घोषणा गरेका छन्। काठमाडौं महानगर वडा २५ का वडाध्यक्षसमेत रहेका शाक्य नेता प्रकाशमान सिंह निकट हुन्।

प्रगतिमान रञ्जितले पनि काठमाडौं महानगरको सभापतिमा दाबेदारी पेश गरेका छन्। रञ्जित प्रकाशमान निकट भएपनि पछिल्लो पटक भीमसेनदास प्रधानसँग नजिकिएका छन्। २०४४ सालबाट नेविसंघमार्फत कांग्रेसको राजनीतिमा प्रवेश गरेका उनी नेपाल तरूण दल काठमाडौं महानगर समितिको संस्थापक सभापति हुन्।

काठमाडौंको कांग्रेस राजनीतिमा प्रकाशमान र भीमसेनदास पक्षको टक्कर पर्दै आएको छ। यसपटक भने प्रकाशमानलाई गगन थापा पक्षको पनि साथ रहेको छ। भीमसेनदास पक्षलाई देउवाले सघाउने देखिएको छ। यसपटकको अधिवेशनमा काठमाडौंका अन्य नगरसहित काठमाडौं महानगरमा दुई पक्षबीच टक्कर पर्ने देखिएको छ।

शंखरापुर नगरपालिकामा दिलीपकुमार श्रेष्ठ, टोखा नगरपालिकामा दीपक जोशी, बूढानीलकण्ठ नगरपालिकामा राजाराम बुढाथोकी, गोकर्णेश्वरमा कुमार लामा, कागेश्वरी मनोहरामा मिठाराम दाहाल, तारकेश्वर नगरपालिकामा श्रीराम थापा, चन्द्रागिरि नगरपालिकामा घनश्याम गिरी, नागार्जुन नगरपालिकामा दुर्गा गौतम उम्मेदवार छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा