
काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्र संघकाे ७६ औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन् । महासभामा काेभिड–१९, दिगाे विकास, पृथ्वीकाे आधारभूत आवश्यकता, मानव अधिकारकाे रक्षाबारे छलफल भएकाे थियो ।
महासभामा नेपालको प्रतिनिधित्व गर्दै आफूले अल्पविकसित एवं भूपरिवेष्टित देशको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय रहेको बताएको उनले बताए ।
‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसंघसँगको सहकार्यबारे पनि छलफल भएको छ। सो क्रममा नेपाल र अन्यदेशको सम्बन्धका बारेमा पनि कुराकानी गरेको छु, त्यसले हाम्रो कुटनीतिक सम्बन्ध विस्तारमा मद्दत मिलेको विश्वास छ’, खड्काले भने ।
नेपालको परराष्ट्र नीति आपसी समझदारी र अन्तर्राष्ट्रिय परिवेश अनुसार बनाउनुपर्नेमा उनले जोड दिए । खड्का असोज ६ गते परराष्ट्रमन्त्रीको कार्यभार सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका हुन् ।
आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको विपक्षमा रहेको उनको भनाई थियो । उनले मानव अधिकारको प्रवर्द्धन र रक्षामा पनि जोड दिए । उनले कोभिड-१९ विरुद्धको खोप सबै ठाउँका सबै मानिसले न्यायपूर्ण र समान ढंगबाट पाउनुपर्ने बताए ।
मावन जीवन रक्षाका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने उल्लेख गर्दै खड्काले कोभिडले कारणले देखिएको चुनौतीलाई सम्बोधन गर्न राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय सामुदायले देखाएको सहयोगको प्रशंसा गरे ।
बाधा र चुनौतीका बाबजुत नेपालले २० प्रतिशत नेपालीलाई खोप लगाएको उनको भनाइ छ । नेपालले ६ महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने मन्त्री खड्काले बताए ।
संयुक्त राष्ट्र संघकाे ७६ औं महासभामा परराष्ट्रमन्त्री खड्काले दिएको उत्कृष्ट प्रस्तुतीको कुटनितिज्ञहरुले उच्चप्रशंसा गरेका थिए ।

