चाक्सीबारीमा पौडेल समूहको बैठक : सर्वसम्मत नेतृत्वको खोजी, निर्वाचन निर्देशिका नस्वीकार्ने

काठमाडौं- नेपाली कांग्रेसमा महाधिवेशनका माहौं बढ्दै गएको छ । महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा गुटगत छलफलहरुले तीव्रता पाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भएको एक नेताले बताए ।

पूर्व महामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीवारीमा निवासमा भएको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित छन् ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको विधानसँग बाझिनेगरी तयार गरिएको निर्वाचन निर्देशिका स्वीकार्य नहुने निष्कर्ष निकालेको छ ।

पौडेल समूहमा सभापतिका आकांक्षीको संख्या धेरै भएपछि सहमति जुटाउन नेताहरु निरन्तर छलफलमा छन् । दुई दिनअघि पनि उनीहरुबीच सर्वसम्मत नेतृत्व चयनका लागि संवाद भएको थियो । त्यस्तै क्रियाशील सदस्यता सार्वजनिक गर्न भन्दै पौडेल समूहका जिल्ला सभापतिहरु आन्दोलनमा छन् । उनीहरुले मंगलबार पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए भने बुधबारदेखि अनसन शुरु गर्ने भएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर दोस्रो साता काठमाडौंमा हुँदैछ । मंसिर ९ देखि १३ सम्म हुने केन्द्रीय महाधिवेशनका लागि भदौ १८ बाट वडा अधिवेशन शुरु हुँदैछ । कांग्रेसले अझै क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा