मत नदिने र ‘बा’ नभन्नेहरूलाई ओलीले पार्टीमा गन्दैनन् : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूलाई ‘बा’ नभन्नेहरूलाई मान्छे नगन्ने गरेको आरोप लगाएका छन्।

समाजवादी पार्टीको बैठक बस्न चन्द्रागिरी पुगेका नेता नेपालले सञ्चारकर्मीहरूसँग भने, ‘केपी ओलीले महाधिवेशनमा मत नदिने र बा नभन्नेहरूलाई एक्ल्याउन थाले। ओलीले पार्टीलाई निजी कम्पनीको रूपमा लिन थालेपछि हामीले विरोध गर्दा विद्रोह गर्न बाध्य भयौँ।’

ओलीको कदम संघीयता, धर्म निरपेक्षता र राष्ट्रियताभन्दा बाहिर जाने खालको भएको आरोप लगाए। पार्टीमा क्रान्तिकारी र दक्षिणपन्थी धार देखिएपछि नै समस्या सिर्जना भएको उनले दाबी गरे। 

‘ओलीले दक्षिणपन्थीसँग मिलेर लोकतन्त्र र संविधानलाई नै खतरामा पार्नतिर लागे। हामी एकताबद्ध भएर जाने लागेका थियौँ। तर,  संकटलाई टार्न भन्दै वार्ताको नाटक पनि गरे। एकलौटी निर्णय गर्दै जाने, अनि हामीलाई वार्ताको नाटकमा अल्मल्याउने कोसिस मात्रै भइरह्यो,’ उनले भने। ओलीले पार्टीलाई निजी कम्पनीको रूपमा अगाडि बढाउन थालेपछि आफूहरूले समानान्तर कमिटी गठन गरेर अगाडि बढ्न थालेको नेपालको तर्क छ। 

ओलीले हामीलाई निकालेर पार्टीको ढोका नै बन्द गरे। हामीसँग ओलीसामू घुँडा टेक्ने वा विद्रोह गर्नुपर्ने विकल्प थियो। तर, हामी कसैको टाङमुनि छिर्ने पक्षमा रहेनौँ। त्यसैले कम्युनिष्ट आन्दोलन रक्षा गर्न नयाँ पार्टी गठन गरेका हौँ।’

वामपन्थी शक्तिसँग एकताबद्ध भएर चुनावी तालमेल गरेर अगाडि जाने नेपालले स्पष्ट पारे। लोकतन्त्र र संविधानको रक्षा गर्दै जनताको पक्षमा अघि बढी समाजवादी लक्ष्य पूरा गर्ने योजना रहेको पनि उनले बताए। 

पदको नभएर विचार, मूल्य र मान्यताको लडाइँ भएकाले सफल हुने विश्वास नेता नेपालले लिएका छन्। पार्टी गठनसँगै ओली सुध्रिए एकताको बाटो सधैँ खुला रहेको पनि उल्लेख गरे।

‘अष्टलक्ष्मी शाक्य मेरो सल्लाहमा मुख्यमन्त्री हुनुभएको हो। अब उहाँहरू अफ्ट्यारोमा हुनुहुन्छ। पार्टी गठनपछि उहाँहरूले एउटा पार्टी रोज्नुपर्ने हुन्छ। त्यसपछि नै त्यो सरकारको आयु निर्धारण हुन्छ,’ उनले भने। 

आफूलाई छाडेका नेताहरू नयाँ पार्टीमै आउने उनले विश्वास गरे। समाजवादी केन्द्र निर्माणपछि अध्यक्ष हुने लोभमा एमाले विभाजन नगरेको पनि नेता नेपालले जिकिर गरे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा