July 5, 2022, Tuesday
२०७९ असार २२, बुधबार
KN hd tv

कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीको खर्च निकै महंगो

बुटवल : कोरोन संक्रिमतको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । जटिल किसिमको कोरोना सक्रमितको लागि उपचार खर्च महंगो छ । लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीको खर्च निकै महंगो भएको पाइएको हो। संक्रमितमध्ये अधिकांश लक्षण नदेखिएका छन्। लक्षण देखिएका र दीर्घरोगीको उपचार महंगो भएको अस्पतालले जनाएको छ।

उक्त अस्पतालमा अहिले चारजना बिरामी गम्भीर अवस्थामा उपचार गराइरहेका छन्। उनीहरूलाई आईसीयूमा राखिएको छ। आईसीयूमै रहेका तीनलाई भने बिहीबार मात्रै सामान्य वार्डमा सारिएको छ। प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार ती बिरामीको उपचारमा दैनिक १ लाख २१ हजार खर्च भएको छ। ‘हिजो (बुधबार) मात्रै मैले सबै हिसाब गरेर हेरें’, उनले भने, ‘जटिल बिरामीको उपचार निकै मंहगो देखिएको छ।’ अस्पतालमा कार्यरत चिकित्सकले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), बिरामीपिच्छेका फरक–फरक रोग र त्यसको औषधि, कृत्रिम श्वासप्रश्वास सहितको उपचारमा खर्च भएको हो। बुटवलको अस्पतालमा दैनिक २६ थान पीपीई खर्च हुने गरेको छ। उनले एकै दिन पीपीईमा मात्रै ७०÷८० हजार खर्च हुने गरेको बताए।

जटिल बिरामीको उपचारमा खटिने चिकित्सकको अवस्थासमेत कष्टपूर्ण छ। पीपीई लगाएरै ६ घण्टासम्म खटिनु परेको हो। त्यसरी खटिएका चिकित्सकलाई अस्पतालले होटल क्वारेन्टाइनमा राखेको छ। होटलसमेतको खर्चले उपचार महंगो भइरहेको उनले बताए। विशेष अस्पतालका लागि नै पाँचजना चिकित्सक तोकिएका छन्। दुई जना कन्सल्ट्यान्ट छन्। विशेषज्ञ डाक्टरहरू एक साता सेवामा खटिएर दुई साता क्वारेन्टाइनमा बस्छन्। अन्य चिकित्सक भने २१ दिन सेवामा खटिएर क्वारेन्टाइनमा बस्छन्। सो अवधिमा प्रादेशिक अस्पतालका मेडिकल अधिकृतहरूले बिरामीको रेखदेख गर्ने गरेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए।

प्रादेशिक अस्पतालमा यसअघि भेन्टिलेटरमा राखेका दुईजना कोरोना संक्रमित निको भई घर फर्किएका छन्। भेन्टिलेटरमै पुगेका दुईजना उपचारपछि निको हुँदै गएका छन्। अहिले चारजना गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको छ। एकजना भेन्टिलेटरमा छन्। बिरामी दाङ, रुपन्देही र कपिलवस्तुका हुन्। प्रादेशिक अस्पतालले बुटवल धागो कारखानाको भवनमा आईसीयू अस्पताल बनाएको हो। आठवटा आईसीयूसहित भेन्टिलेटर अस्पतालमा छन्। अहिले अस्पतालमा १७ जना संक्रमित छन्। अन्य ११ जना भने लक्षण देखिए पनि सामान्य अवस्थामा छन्। 

शीर्ष समाचार

धेरै पढिएको