May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

नेकपा जारी स्थायी समिति बैठक: अध्यक्ष ओली आलोचनाको मुख्य निसानामा पर्दै

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको जारी स्थायी समिति बैठकमा गाली र तालीको केन्द्रबिन्दुमा छन्। पार्टीभित्र रहेको त्रिपक्षीय शक्ति सन्तुलन द्विपक्षीय देखिन थालेपछि यो बैठकमा अध्यक्ष ओली आलोचनाको मुख्य निसानामा पर्ने देखिएका हुन्।

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीको पार्टी र सरकार सञ्चालन कार्यशैलीसँग सहमत छैनन्। दाहाल र नेपाल पक्षका नेताले आलोचना गर्ने संकेत बुधबार पहिलो दिनको बैठकमै देखिएको थियो। उनीहरूले एमसीसी सम्झौताका साथै कार्यकारी अधिकार दाहाललाई प्रयोग गर्न नदिइएको, सरकारलाई एकलौटी चलाउन खोजेको, पार्टीलाई बन्धक बनाएको आरोप लगाइसकेका छन्।

दाहालले बुधबार सम्बोधन र नेपालले ओलीले सम्बोधन गरिरहँदा प्रतिवाद गरेका थिए। यसका अतिरिक्त विधि, पद्धतिअनुसार पार्टी चलाउनुपर्ने, एक व्यक्ति एक मुख्य जिम्मेवारी हुनुपर्ने आवाज पनि नेपाल समूहका नेताले उठाउने रणनीति बनाएको देखिन्छ। आफ्ना एजेन्डामा नेपाल पक्षले दाहालको साथ खोजेको छ।
नेपाल पक्षका नेता रघुजी पन्तले पार्टीमा विधि पद्धतिका विषयदेखि समग्र विषयमा नेताले आआफ्नो विवेक प्रयोग गरेर कुरा उठाउने बताए। ‘बैठकमा समग्र विषयमा कुरा उठ्छन्। सरकारको काम, पार्टी कामका बारेमा कुरा उठ्छन्’, उनले अन्नपूर्णसँग भने, ‘आफ्ना विवेक प्रयोग गरेर नेताहरूले कुरा उठाउनुहुन्छ।’

ओली पक्षले एमसीसी, सीमा समस्या र समाधान, कोभिड–१९ रोकथाम तथा नियन्त्रणलगायत विषयमा मात्र बैठकमा छलफल चाहेको थियो। तर, बुधबार नेताहरूले सरकारको र पार्टी कामको पनि समीक्षालाई एजेन्डा बनाउन दबाब दिएपछि भने बैठक आरोप÷प्रत्यारोपमा चल्न सक्ने देखिएको छ।

‘यति बेला कोरोना भाइरस जोडिएको विषयमा छोटो छलफल गरेर सरकारलाई साथ दिने बेला थियो, अहिले सरकारको समीक्षा गर्ने बेला थिएन। बैठकमा गलत एजेन्डामा छलफल हुन खोज्दै छ’, ओलीनिकट नेता एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले भने, ‘विपक्षीले पनि अहिले यसैमा सरकारलाई साथ दिनुपर्ने बेला स्थायी समितिमा सरकारको समीक्षा गर्ने समय सही होइन।’

सरकारको समीक्षाका विषयमा नेपाल र दाहाल पक्षले उठाएको असन्तुष्टिले पनि सरकारको काममा कडाइपूर्वक प्रस्तुत हुन सक्ने अनुमान नेताको छ। त्यसो त २० स्थायी समिति सदस्यले १० वैशाखमा बैठक बोलाउन माग गर्दा सरकारले त्यस बेला ल्याएको अध्यादेशका विषयमा छलफल आवश्यक रहेको बताएका थिए।

शुक्रबार (आज)को बैठकमा दुई अध्यक्षले बुधबार राखेको धारणामा केन्द्रित रही निर्धारित एजेन्डामा स्थायी समिति सदस्यले बोल्नेछन्। त्यसको पूर्वसन्ध्यामा तीनै पक्ष ओली, दाहाल र नेपालका नेताले बिहीबार दिनभर अलग–अलग भेट गरी आन्तिरक तयारी गरेका छन्।

दुई अध्यक्ष ओली र दाहाल तथा महासचिव विष्णु पौडेलले बैठक सञ्चालन, कार्यविधिलगायत विषयमा केन्द्रित रही बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै दुई घण्टा छलफल चलाए। महासचिव पौडेल पार्टीको विवाद मत्थर बनाई समाधानमुखी छलफलका लागि जुटेका छन्। उनले दिउँसो ललितपुर बालकुमारीमा नेकपा नेता कृष्णलाल महर्जनको निवासमा दाहाल र नेता नेपालसँग छलफल गरे। यी छलफल पार्टीभित्र देखापरेका समस्या र विवादलाई तन्काउनेभन्दा पनि समाधानका लागि के गर्न सकिन्छ भन्ने खोजीमा केन्द्रित थिए।

दाहालसँग खुमलटारमा स्थायी समिति सदस्यहरू मातृका यादव, हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायतले छुट्टाछुट्टै छलफल गरे। बालुवाटारमा पनि नेताहरू ईश्वर पोखरेल, सुवास नेम्बाङ, शंकर पोखरेललगायत नेताले ओलीसँग छलफल गरेका थिए।

ओली पक्षले दाहाल र नेपाल पक्षमा नरम देखिएका नेतासँग पनि छलफल ग¥यो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतले केही दिनअघि स्थायी समिति सदस्य देवेन्द्र पौडेल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेतासँग पनि छलफल गरेका थिए।

प्रदेश ५ का मुख्यमन्त्री पोखरेल त केही दिनयता काठमाडांै आई दाहाल र नेपालसँगको छलफलमा जुटिरहेका नै थिए।

शीर्ष समाचार

धेरै पढिएको