लोकप्रिय मतसहित इन्द्रबहादुर बानियाँ बने कांग्रेस केन्द्रीय सदस्य: पार्टी रूपान्तरणमा सक्रिय रहने उद्घोष
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भारी मतका साथ पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न खुलातर्फको निर्वाचनमा उनले तेस्रो स्थान हासिल गर्दै केन्द्रीय कार्यसमितिमा प्रवेश गरेका हुन् । विधानअनुसार खुला प्रतिस्पर्धाबाट ४५ जना केन्द्रीय सदस्य चुनिने व्यवस्था रहेको छ ।
मकवानपुरको जिल्ला सभापति हुँदै बागमती प्रदेशको पहिलो सभापति र प्रदेशको छैटौँ मुख्यमन्त्रीको कुशल जिम्मेवारी सम्हालिसकेका बानियाँले महाधिवेशन प्रतिनिधिको यो विश्वासलाई पार्टी एकताको ऊर्जाका रूपमा लिएको बताएका छन् । उनले राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिकालाई अझ प्रभावकारी र निर्णायक बनाउन निरन्तर लागिपर्ने बताए ।
पार्टीलाई गाउँ र जनताका दैनिक आवश्यकतासँग जोड्दै गरिबमुखी, न्यायमुखी र विकासमुखी कांग्रेस निर्माण गर्ने सङ्कल्प बानियाँको छ । हेटौँडा–१८ हर्नामाडी निवासी बानियाँ २०४४ सालमा नेविसंघबाट राजनीतिमा प्रवेश गरी तरुण दल हुँदै पार्टीको नेतृत्व तहमा स्थापित भएका हुन् ।
वि.सं. २०७० को संविधानसभा निर्वाचन जितेर पर्यटन तथा गृह राज्यमन्त्री बनेका बानियाँ २०८२ मा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीको कार्यकालमा उनले प्रशासनिक सुधारका लागि १४ वटा मन्त्रालयलाई घटाएर ८ मा झार्ने साहसिक निर्णय गर्नुका साथै गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई प्राविधिक उच्च शिक्षाको प्रत्याभूति दिलाउने कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए ।

प्रतिकृया दिनुहोस्