June 5, 2023, Monday
२०८० जेष्ठ २२, सोमबार
KN hd tv

कोरोनाको ‘हट स्पट’ बन्दै काठमाडौँ

काठमाडौँ– आज मंगलबार, १३ असोज, सम्म काठमाडौँ जिल्लामा कोरोना संक्रमितको संख्या १८ हजार १३० पुगेको छ ।

देशभर हालसम्म सबैभन्दा बढी संक्रमितहरू भएको जिल्ला काठमाडौँ बनेको छ जहाँ कोभिड संक्रमित ८ हजार ४६५ जना उपचाररत अवस्थामा रहेका र ९ हजार ५७३ जना डिस्चार्ज भइसकेका छन् ।

हालसम्म काठमाडौँमा मात्र ९२ जना कोरोना संक्रमितहरूको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि काठमाडौँ जिल्लाका नगरपालिकाहरू आफ्नै ढङ्गले सक्रिय छन् ।

काठमाडौं महानगरसहित तारकेश्वर, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंखरापुर, कीर्तिपुर, चन्द्रगिरि र दक्षिणकाली गरी दशवटा नगरपालिका छन् । कोभिड-१९ संक्रमितको संख्या काठमाडौँ महानगरभित्रै बढी छ ।

नगरपालिकाहरूले कोभिड संक्रमण न्युनीकरणका लागि विभिन्न कदमहरू चालेको बताएका छन् । हाल कोभिडको हटस्पटका रुपमा देखिएको काठमाडौं जिल्लाका १० नगरपालिकाहरूले भाइरस संक्रमितहरूका लागि होम आइसोलेशनमा बस्न प्रेरित गर्दै पोषण भत्तासमेत दिएका ।

टोखा नगरपालिकामा पोषण भत्ता

टोखा नगरपालिकाले संक्रमितहरूलाई होम आइसोलेसनमा बस्न प्रेरित गर्ने र पोषण भत्ता दिने गरेको छ । नगर उपप्रमुख ज्ञानमाया डङ्गोलका अनुसार गत भदौ ३ गतेको नगरकार्यपालिका बैठकले आइसोलेसन बनाउने निर्णय गरेअनुसार ३ दिनमा १७ बेडको आइसोलेशन सेन्टर तयार भयो । होम आइसोलेसनमा बस्न समस्या हुनेहरूले आइसोलेशन सेन्टरमा प्राथमिकता पाए ।

प्रमुख डङ्गोलले होम आइसोलनमा बसेकाहरूलाई पोषणयुक्त खानाका लागि प्रतिव्यक्ति ३५० रुपैयाँका दरले पोषण भत्ता वितरण गरिरहेको उनल बताइन् । उनले भनिन्, ‘कतिपय अवस्थामा हामी घरमै गएर रकम वितरण गरिरहेका छौँ, अहिलेसम्म ९० जनालाई पोषण भत्ता दिइसकेका छौँ ।’

हालसम्म टोखा नगरपालिकाभित्र ४ हजार ५ सय जनाको पीसीआर परीक्षण गरिएकोमा ८२५ जना कोरोना संक्रमितहरू फेला परेका छन् । टोखा नगरक्षेत्रभित्र ३ जनाको मृत्यु भएको छ ।

कीर्तिपुरमा क्वारेन्टिन नै आइसोलेशन

कीर्तिपुर नगरपालिकाले जनस्वास्थ्य केन्द्रीय कार्यालयमा रहेको २ सय बेडको क्वारेन्टिनलाई आइसोलेशन बनाएको छ । नगर प्रमुख रमेश महर्जनका अनुसार त्रिभुवन विश्वविद्यालयको रिसर्च सेन्टरमा पनि २ सय बेडकै आइसोलेसन बनाइएको छ ।

उनले पीसीआरको दायरा फराकिलो पार्दै नगरमै पीसीआर ल्याब सञ्चालन गर्ने तयारी गरेको बताए ।

कीर्तिपुर नगरपालिकाभित्र ६५ जनामा कोरोना सक्रमण देखिएको छ । जसमध्ये ३२ जना महिला र ३३ जना पुरुष छन् । नगरको होम आइसोलेशनमा ६० र अस्पतालमा ५ जना रहेको महर्जनले बताए । होमआइसोलेशनमा रहेका कोभिड संक्रमितहरूलाई स्वास्थ्यकर्मीले निगरानी गरिरहेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको