September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

मुख्य सिजनमै पर्यटक शून्य

काठमाण्डाै – गएको माघ/फागुन महिनादेखि नै सुनसान रहेको नेपालको पर्यटन क्षेत्र भर्खरै सुरु भएको मुख्य सिजनमा पनि सुनसान छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सरकारले जारी गरेका स्वास्थ्य मापदण्डका कारण विदेशी पर्यटक आउने सङ्केत नदेखेपछि व्यवसायीहरु निराश हुन थालेका छन् ।

सरकारले अहिलेकै मापदण्डलाई जारी राख्ने हो भने यो पर्यटकीय सिजनमा विदेशी पर्यटकको सङ्ख्या शून्य रहन सक्ने व्यवसायीको गुनासो छ । 

गएको अङ्ग्रेजी वर्ष अर्थात् सन् २०१९ मा कुल ११ लाख ९७ हजार पर्यटक नेपाल आएका थिए । मुख्य सिजन मानिएका अक्टोबरमा एक लाख ३४ हजार, नोभेम्बरमा एक लाख ३० हजार र डिसेम्बरमा एक लाख आठ सय गरी कुल तीन लाख ६४ हजार पर्यटक नेपाल आएका थिए । तर यो वर्षको मुख्य पर्यटकीय सिजनमा पर्यटक आउने सङ्केत नमिलेको व्यवसायीले बताएका छन् ।

पर्यटक सिजन कोरोना सिजनमा परिवर्तन भयो, सरकारले पर्याप्त सहयोग गरेन : शाह

विदेशी पर्यटक भित्र्याउने र व्यवसायीका मर्का बुझ्ने मामिलामा सरकारले पर्याप्त सहकार्य नगरेको होटल एसोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहको गुनासो छ । 

‘कात्तिकदेखि विदेशी पर्यटक आउन दिने भन्ने हल्ला सरकारले नै गरेको छ तर उनीहरु आएपछि कहाँ कसरी बस्ने, ट्रेकिङ जान पाउने कि नपाउने, क्वरेण्टीन कति दिन बस्ने लगायतका विषयमा सरकारले केही खुलाएको छैन । तयारी पनि गरेका जस्तो देखिएन, पर्यटकलाई सेवा दिने हामी जस्ता व्यवसायीसँग पनि छलफल नै भएको छैन’, हानका वरिष्ठ उपाध्यक्ष शाहले भन्नुभयो ।

सरकारले कोरोनाको मारमा परेका व्यवसायीको लागि ५० अर्ब रुपैयाँको कोष स्थापना गरे पनि कार्यविधि नबन्दा त्यसको उपभोग गर्न नपाएको शाहले गुनासो गर्नुभयो । ‘दशैँ, तिहार नजिक आइसक्यो, कामदारलाई तलब दिनुपर्छ, अन्य खर्च पनि बढेको छ, यस्तो बेलामा सरकारको सहयोग जरुरी छ तर हामीले पटक–पटक निवेदन दिँदा पनि सरकारले नसुनेको जस्तो गरेको छ’, शाहको भनाइ छ । 

अहिले तत्कालको लागि विदेशी पर्यटक आएर आफूहरुको व्यवसाय चम्कने आशा नरहेको भन्दै शाहले यो वर्ष टिक्न सके अर्को वर्ष पर्यटक ल्याउन सकिने गरी सोच बनाएको बताउनुभयो । 

‘सरकारले विदेशी पर्यटक आउन दिए पनि हुलका हुल पर्यटक आउने सम्भावना छैन, त्यसैले अहिले थोरै क्षमतामा होटल खोलेर नेपालीलाई नै सेवा दिइरहेका छौँ’, शाहले भन्नुभयो, ‘काठमाण्डौ, पोखरा, चितवनलगायतका होटलमा नेपालीले नै निकै सोधीखोजी गरिरहेका छन्, त्यसैले आन्तरिक पर्यटकलाई जोड दिनुपर्छ ।’

शीर्ष समाचार

धेरै पढिएको