July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

माननीय, सम्माननीय र डा. केसी

काठमाडौँ – नेपाली समाज अचाक्ली पदधारीहरूको हालीमुहालीबाट यति साह्रो थिलथिलो हुँदै गुज्रिरहेको छ कि मानौं, यहाँ पदविहीन हुनु भनेको केही गर्नै नसक्ने निरीहताको पराकाष्ठा हो।

कुनै पद, विभूषण, नियुक्तिबिना त सास फेर्न पनि सकिन्न भन्ने अवस्थाको सिर्जना यसरी गरियो कि हुँदाहुँदा कालोबजारी, बिचौलिया, तस्कर र डनहरूसमेत कसलाई विभूषण दिने, कसको तक्मा खोस्ने र कसलाई कुन पद दिलाउनेदेखि कसको पद बर्खास्ती गरिदिने भन्नेसम्मको खुलमखुला हर्कतमा देखा पर्न थाले।

जब राजनीतिमा, सामाजिक जीवनमा मूल्य, मान्यता, त्याग, योगदान, निष्ठा, समर्पण र सद्भावको चरम खडेरी पर्दै जान्छ बल, शक्ति, धन, गुन्डा, तस्कर र बिचौलियाहरूको जगबाट उदाइरहेकालाई राजकीय पद, प्रतिनिधि, नियुक्ति र दलिय पदाधिकारी नभई बाँच्नै सकिन्न भन्ने कुरोले मजाले घर गर्ने देखिरहेका छौं।

अहिले ग्रामीण कुनाकन्दरादेखि सिंहदरबारसम्म जुन प्रकारका टोले गुन्डादेखि पहुँच, प्रभाव, धन, डन र शक्तिको चलखेल गरेर राजकीय पद हत्याउँदै म फलानो पदधारी हुँ नभनी, पदीय रबाफ नदेखाई चित्तै नबुझ्ने वातावरण बनाइएको छ, यो दुःखद छ। पद भनेको काम गरेर देखाउनेभन्दा पनि मैमत्ताको प्रतीक हो। यसको जति दुरुपयोग र दोहन गर्‍यो, त्यति नै शक्तिशाली देखिने गलत परम्परा जसरी स्थापित गरियो, राजनीतिमा खराब तत्वहरूको निर्बाध प्रवेश त्यसैगरी झाँगिरहेको मात्रै छैन, उनीहरूबिना राजनीति नै असम्भव छ जस्तो धारणा स्थापित गराइसकिएको छ, यो विडम्बना छ।

राजनीति पदीय दम्भको यस्तो खराब मैदान बनाउँदै लगियो कि एउटा वडाध्यक्षको टिकट किन्न नेतालाई १० लाख टक्य्राउनुपर्ने अनि चुनाव जित्न ३० लाख खर्चिनुपर्ने कुरा विस्तारै गौण बन्दैछ।

अब अनुमान गर्नुस् त वर्षौंदेखि निष्ठा, त्याग र इमानको राजनीति गर्नेहरू सबैले न त्यो टिकट किन्न सक्लान् न त्यसमा रमाउलान् ? किनिएको टिकटले मात्रै नपुग्ने भो चुनावमा लाखौं खर्च गर्न सक्लान् ? जब टिकट किनेर चुनावमा धन र बलको जगमा वडाको जनप्रतिनिधि बन्नैपर्ने ‘पदीय लोभ’ आइलाग्यो भन्नेबित्तिकै अब बुझ्नुपर्‍यो– त्यो वडाध्यक्षले निर्वाचित भएपछि देखाउने पदीय दम्भ, उसले गर्ने पदीय दुरुपयोग र आगामी दलीय राजनीतिमा उसको पहुँच, पकड र प्रभाव कस्तो होला ? कुरा उही हो, पारा त्यही हो, शैली उस्तै हो मेयर बन्ने, सांसद र मन्त्री बन्ने अहिलेको खाँटी नेपाली तरिका। यो तरिकामा प्रवेश पाएर सफल बनेका पछिल्लो उदाहरण हुन् दीपक मनाङे। दीपक मनाङे यो देशका जबर्जस्त निर्वाचित जनप्रतिनिधि हुन्। बदलिँदो राजनीतिक संरचनाले जन्माएको माननीय मनाङे।

उफ् ! मान्नैपर्ने माननीय, सम्मान गर्नैपर्ने सम्माननीय दीपक मनाङे शक्तिशाली सत्तारूढ दल नेकपाका नेता हुन्, उनको पृष्ठभूमि, धन्दा र हर्कतबारे बहस गर्दै गरौंला तर उनलाई सम्बोधन गर्नुअघि माननीय दीपक मनाङेज्यू नलगाए कतिपयको त जागिरै जाने जोखिम छ। माननीय सम्मानित पद थियो, जनताले चुनेर पठाएको प्रतिनिधि, नीतिनिर्माता अर्थात् मुलुकको मुहार। यहाँ मैले जोडका साथ उठाउन खोजेको कुरा के हो भने राजकीय संरचनालाई यो छुट छैन कि उनलाई म मान्दिनँ भन्न अर्थात् उनको मान्नैपर्ने पद माननीय।

दलाल राजनीतिको गर्भबाट जन्माइएका ‘मनाङे’ हरू जस्ता दर्जनौं पात्रले नेपालको संसदीय इतिहासमा आफ्नो नाम दर्ज गरिसकेका छन्। उनीहरूको अनुकरणले नेताहरूको अनुकम्पाले सयौं त्यस्ता राजनीतिक पात्र र प्रवृत्ति साम, दाम, हराम सबै नीति र संयन्त्रको जोहो गरेर आगामी निर्वाचन कुरेर बसिरहेका छन्, मान्नैपर्ने माननीय लाइनमा दर्ज बुनता लागि। तर किन हामी बोल्दैनौं ‘इट इस टु मच, इनफ इज इनफ !

हामी किन पोल खोल्दैनौं पैसाको खोलो बगाएर बनेका मान्नैपर्ने माननीयविरुद्ध ? हामी किन बोल्दैनौं संरक्षित ग्याङ गिरोहले तयार पारेका मान्नैपर्ने माननीयविरुद्ध ? खुलेर बोलौं अब त अति भो, जति चुप त्यति नै क्षति हो भनेर।

यो मुलुकको राष्ट्रप्रमुख भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वराष्ट्रपति डा. रामवरण यादव अहिले पनि आफ्नो दायराबमोजिमको गतिविधिमा सक्रिय हुनुहुन्छ। कालीकोटका भरिया झपट ठकुरी हुन् या सप्तरीका रिक्साचालक बुधन महतो; तेह्रथुमका किसान धनबहादुर सुब्बा हुन् या चितवनकी नर्स माया बर्देवा; बैतडीका पुरोहित रामप्रसाद अवस्थी हुन् या पूर्वराजा र पूर्वराष्ट्रपतिले न्यायको ढोका ढक्ढकाउन जाने ठाउँ अन्ततः अदालतै हो।

अदालतका न्यायाधीशलाई माननीय न्यायाधीश भन्ने गरिन्छ भने सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई सम्माननीय प्रधानन्यायाधीश। न्याय दिनु र आदेश मात्रै गर्नु निकै फरक कुरा हुन्। दुःखद सत्य हाम्रो अदालतमा धेरैजसो आदेश हुन्छ साह्रै कम न्याय।

मुलुकको राजनीतिचाहिँ लम्पट, नेताहरूचाहिँ बिचौलिया र तस्करहरूका घेरामा, कर्मचारीलाई कालोबजारीले चलाउने, प्रहरी दलीय दलालीमा निर्लिप्त हुनुपर्ने अवस्थाबाट गुज्रिरहँदा अर्को राजकीय संस्था अदालतबारे नबोली धरै छैन। आस्थाको अन्तिम केन्द्र, न्यायको मन्दिर, आशाको आभा फैलाउन सक्ने अदालतको अवसान कसरी भइरहेको छ भन्न हालैको एउटा विवादास्पद ‘हत्यारा रञ्जन कोइराला प्रकरण’ लाई एकसरो विश्लेषण गरे पुगिहाल्छ।

हत्या पुष्टि हुनुअघि रञ्जन कोइराला नामको अगाडि श्रीमान् डीआईजी रञ्जन कोइराला लाग्थ्यो। अदालतको आदेशले उनी थोरै समयमा छुटे। अदालतले छुटको आदेश दियो, गीता ढकाललाई न्याय होइन। विडम्बना, अदालत न्याय दिनभन्दा आदेश दिन अग्रसर छ !

पूर्वराजादेखि भरिया झपट ठकुरीसम्मलाई न्याय दिनुपर्ने स्थानमा गोपाल पराजुलीहरू पुगेपछि, पुर्‍याइएपछि हुने नै यस्तै हो। त्यसैले चाल्र्स शोभराजहरू हाम्रो धरातलीय यथार्थको नजिकबाट चित्रण गर्दै भन्छन्, ‘त्रिभुवन विमानस्थलबाट हात्ती छिराइदिन सक्छु।’

नागरिकता प्रकरणमा विवादित सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको आस्था जति नै धुमिल बनाए पनि उनलाई सम्माननीय भन्नैपर्ने अर्थात् सम्मान गर्नैपर्ने, सम्माननीय पराजुली।

विडम्बना कस्तो छ भने उनै चरम विवादित सम्माननीय पराजुलीलाई राष्ट्रपतिबाट राजकीय पदक थाप्न शीतल निवास पुर्‍याइन्छन्। तक्माधारी सम्माननीय गोपाल पराजुली प्रवृत्ति न्यायालयमा बहुसंख्यक हुन थालेपछि मुलुक कुन दिशामा अघि बढिरहेको छ भन्न कुनै राष्ट्रिय सर्वेक्षणको जरुरी छैन। अहिलेको दलाल राजनीतिको अभ्यासले अदालतलाई यति धेरै दूषित बनाइसक्यो कि हरिबहादुर थापाहरूजस्ता अग्रज पत्रकारले कुन मुद्दा कुन न्यायाधीशका बेन्चमा पुगेपछि अथवा पुर्‍याइएपछि कसका पक्षमा कस्तो निर्णय आउँछ ठ्याक्कै विश्लेषण गर्न सक्छन्, यो बहुतै दुःखद हो।

फेरि पनि मान्नुस् या नमान्नुस्, माननीय न्यायाधीश भन्नैपर्छ। सम्मान गर्नुस् या नगर्नुस्, सम्माननीय प्रधानन्यायाधीश भन्नैपर्छ। यो विडम्बनाको अन्त्य गर्ने दुःसाहस गरेकी सुशीला कार्कीहरूको निष्ठामा महाभियोगको प्रस्ताव दर्ज हुन्छ र सम्माननीय पराजुलीहरूको छातीमा तक्माको भारी।
हृदयबाटै सम्मान जाग्ने पदविहीन आदरणीयहरूको खडेरी यो देशमा हामीले धेरै भोग्यौं मान्नैपर्ने माननीयहरूको अचाक्ली हर्कत। हामी माननीयलाई प्रोटोकल मिचेर अपमान गरियो; हामी माननीय मन्त्रीलाई एयरपोर्टमा ५–५ मिनट कुर्न लगाइयो; हामी माननीयलाई मञ्चमा बोलाउँदा माननीयज्यू सम्बोधन गरिएन अर्थात् हाम्रो मानमर्दन गरियो। कति हो कति माननीय दम्भको दुःखद फेहरिस्त। माननीय मन्त्रीलाई समयमा गाडी नपठाउँदा कुटिएका कर्मचारी जिँउदै छन्। माननीयको सुरक्षामा बेवास्ता भयो भन्दै सरुवा गरिएका सुरक्षाकर्मीको बेलिविस्तार कति हो कति ? माननीयसँग ठाडो बोल्ने भन्दै कालीकोट रमाना थमाइएकाहरूको रामकहानी कति धेरै होला अर्थात् तैंले मलाई नमान्ने ? म माननीय हुँ क्या माननीय, उफ् ! मान्नैपर्ने माननीय।

यो देशमा मान्नैपर्ने माननीय भन्दा हृदयबाटै सम्मान जाग्ने आदरणीयको कुनै कमी छैन। म डाक्टर गोविन्द केसीलाई आदरणीय केसीले सम्बोधन गर्दै अन्तरआत्माबाटै नमन गर्छु। निष्ठा, त्याग, समर्पण भएका; इमानमा नडग्मगाएका; भुइँतहका जनताको स्वास्थ्यबारे दलाल राज्यलाई झस्काउन ज्यानको कुनै पर्वाह नगर्ने केसी मान्नैपर्ने माननीय होइनन्; सम्मान गर्नैपर्ने सम्माननीय होइनन्; अन्तरआत्माबाटै सम्मान भाव जागृत हुने आदरणीय गोविन्द केसी हुन्।

गोविन्द केसीजस्तै जनमनमा सम्मानले शिर निहुरिने हाम्रा गाउँमा टोलटोलमा धेरै अग्रज थिए र अहिले पनि छन्, जसलाई देख्नेबित्तिकै त्वचामा चमक आउँछ; जसको नाम सुन्नेबित्तिकै कानले शान्त महसुस गर्छ र जसको फोटो देख्नेबित्तिकै आँखाले आत्मासँग अंकमाल गर्छ।

असल, कर्मशील, सुमन भएका डाक्टर सन्दुक रुइत हुन् या महावीर पुन; कुलमान घिसिङ हुन् या किशोर थापा; नुतन थपलिया हुन् या अनुराधा कोइराला; कृष्ण पहाडी हुन् या डाक्टर मदन परियार या शारदाप्रसाद त्रिताल; केदारभक्त माथेमा हुन् या उत्तम सञ्जेल; भगवान् कोइराला हुन् या धनञ्जय शर्मा; द्वारिकानाथ ढुगाना, बलदेव राम, दुर्गा घिमिरे, सुनिता दनुवार, चरिमाया तामाङ, मदनकृष्ण–हरिवंश, उर्मिला चौधरी, इन्दिरा रानामगर, पुष्पा बस्नेतहरू सदा नमनीय पात्र बनिसकेका छन्, जसको अगाडि मान्नैपर्ने माननीय पद झुन्डिएको छैन।annapurnapost

शीर्ष समाचार

धेरै पढिएको