काठमाडौँ–तराई/मधेस द्रुतमार्ग: खोकनाको समस्या समाधानका लागि विकल्प तयार हुँदै
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाअन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानका लागि विकल्प तयार पार्दै काम अघि बढाइने भएको छ।
खोकनाको समस्याका कारण द्रुतमार्गको सुरुआती बिन्दु निर्धारण र सवारी सञ्चालन व्यवस्थापनमा निर्णय हुन नसक्दा खरिद तथा निर्माण कार्य प्रभावित भइरहेको छ। शून्य किलोमिटरदेखि ६.५ किलोमिटरसम्मको क्षेत्रको निर्माण कार्य अझै शुरू हुन सकेको छैन।
रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री मानवीर राईले सरोकारवालासँग समन्वय गरी आयोजनालाई लक्ष्यअनुसार अघि बढाउन निर्देशन दिनुभएको छ।
मन्त्री राईले पुस २२ गते खोकना–बुङ्मती क्षेत्रको स्थलगत अनुगमन गर्दै खोकनाको समस्या समाधानका लागि विभिन्न विकल्प निकाल्ने योजनाबद्ध प्रक्रिया अघि बढाइएको बताउनुभयो।
७०.९७ किलोमिटर लम्बाइको द्रुतमार्ग २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ। ललितपुरको खोकनाबाट शुरू भई बाराको निजगढसम्म पुग्ने यस राष्ट्रिय गौरवको आयोजनाको हालसम्मको भौतिक प्रगति ३७.६० प्रतिशत र वित्तीय प्रगति ३९.५६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्