संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोग राणा मनोनीत
टेक्सस- महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छन् ।
राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित भएकी हुन् । उनी राष्ट्रिय महिला आयोगका पूर्वअध्यक्षसमेत हुन् ।
जनसङ्ख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी)को २५ वर्ष पुगेको अवसरमा गत वर्ष भएको नैरोबी सम्मेलनमा तय गरिएका एजेण्डा पूरा गर्नका लागि यो आयोग गठन गरिएको थियो ।
उच्चस्तरीय आयोगमा २८ सदस्य छन् भने अध्यक्षता तान्जानियाका पूर्वराष्ट्रपति जाकाया किक्वेते र क्यानडाका २७औँ गभर्नर जनरल मिशेल जीनले गर्नेछन् ।
आयोगमा देशका पूर्वप्रमुखदेखि अभियानकर्मी र युवासमेत सदस्यको रूपमा रहेका छन् । आयोगले नैरोबी सम्मेलनमा गरिएका एक हजार २५० प्रतिबद्धता पूरा भए–नभएको अनुगमन गर्ने जनाइएको छ ।
कोरोना भाइरस महामारीको समयमा महिलाहरु परिवार नियोजन, गर्भवती स्याहारजस्ता आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको अवस्थामा सम्मेलनले दिशानिर्देश गरेका कामहरु निरन्तररूपमा अगाडि बढुन् भन्ने उद्देश्यले अधिकारकर्मीहरु र विशेषज्ञहरुको उच्चस्तरीय आयोग गठन भएको हो ।
यो अभियान सञ्चालनका लागि नैरोबी सम्मेलनले सरकार, निजी क्षेत्र, सङ्घ संस्था र अन्य क्षेत्रबाट प्रतिबद्धताको रुपमा अर्बौं डलर रकम सुरक्षित गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्