October 16, 2026, Friday
KN hd tv

चार जनाको हत्यापछि विक्षिप्त दीपक अस्पतालबाटै बेपत्ता, प्रहरीले अझै भेटेन ‘क्लू’

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा गत ८ गते बुधबार भएको सामुहिक हत्या प्रकरण जति दिन बित्यो झनझन जटिल बन्दै गएको छ ।

सोमबार हत्या गरिएका आमा र तीन छोराछोरीको शव परीक्षण गर्ने कार्य सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तको अडानकाबीच बिहीबार बिहान जिल्ला अस्पतालमा उपचाररत मृतक श्रीदेवीका श्रीमान दीपक बोहरा अस्पतालबाट एकाएक बेपत्ता भएपछि सामुहिक हत्या प्रकरको अनुसन्धान झन जटिल मोडमा पुगेको छ ।

घरका चार चार जना सदस्यहरूको सामुहिक हत्यापछि गत ११ गते वैदेशिक रोजगारीमा कतारमा रहेका दीपक काम छाडेर अत्तालिंदै नेपाल फर्केका थिए । मानसिक रूपमा विक्षिप्त भएर कुनै अप्रिय घटना नघटोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै कान्छा ससुरा वडा नम्ब–६ का वडाध्यक्ष खेमबहादुर रावलको जिम्मा लगाएको थियो ।

बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा प्रहरीमाथि ढुङ्गा बर्षाएका दीपक बेलुका ५ बजे भागेका थिए । प्रहरीले कार्कीवाडा खोलाबाट समाएर साँझ आफन्तहरूले जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । ‘बिहीबार बिहानै उनी अस्पतालबाट हिँडेछन् सबै तिर प्रहरी, स्थानीय सबैले खोजिरहेका छौं बिहीबार साँझ ६ बजेसम्म दीपकको पत्तो लागेको छैन’ कर्णाली प्रदेश प्रहरी कार्यालय वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तथा सूचना अधिकारी गोपाल चन्द्र भट्टराईले भने ।

पोष्टमार्टम गरेर अस्पतालमा राखिएका शवहरू बिहीबार श्रीमान दीपकलाई बुझाएर दाहसंस्कार गर्ने तयारी गर्दैगर्दा श्रीमान समेत बेपत्ता भएपछि अन्यौल सिर्जना भएको छ । एक त सामुहिक हत्या भएको हप्ता दिन बितिसक्दा पनि हत्यारा पत्ता नलागिरहेको बेला त्यसमाथि श्रीमान समेत बेपत्ता भएपछि प्रहरीलाई अनुसन्धानमा अप्ठेरो परेको छ ।

गत ७ गते माइती कोटिल्ला गाउँ टीका थाप्न गएका २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज बोहरा, ८ वर्षीया छोरी अप्सरा बोहरा र ८ महिने छोरा रहर बोहरा गते साँझ माइतीबाट आफ्नो गाउँ मन्दु पुगेकै राति हत्या गरिएको प्रहरीले अनुमान गरेको छ । १० गते ९ बजे हत्या भएको सूचना पाउन बित्तिकै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा गएको टोलीले घर खोली भित्र हेर्दा आमा सहित ३ सन्तानको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको फेला पारेको थियो ।

हत्याको अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, प्रहरी कार्यालय जुम्लाबाट विशेष अनुसन्धान प्रहरी र कोहलपुरबाट कुकुर सहितको अनुसन्धान टोली मुगु पुगेको कोमा ११ गते अनुसन्धान गरि १२ गते नै डक अनुसन्धान टोली फर्कियो भने अन्य २ टोली मुगु मै बसी अनुसन्धान गरिरहेका छन् ।

घटनाको प्रकृति, अनुसन्धानको पछिल्लो अवस्था बारे बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थलमै आफै पुगी अनुसन्धानमा खटिइरहेका छन् । प्रहरीले घटना सम्बन्धी अनुसन्धान गर्न कयौँ व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य गरिरहेको छ । सोमबार चारै शवहरूको परीक्षण सकिएसँगै प्रहरी सूक्ष्म अनुसन्धानमा लागेको भट्टराईले बताएका छन् ।

प्रहरीले उक्त घटनाको अनुसन्धान प्रविधि र म्यानुल्ली दुबै तरिकाबाट अहिले गरिरहेको छ । भौगोलिक कठिनाइ, नेट, फोनको नेटवर्कको समस्या, यातायातको असुविधा र स्थानीय गाउँलेहरू प्रहरीसँग नखुल्नु जस्ता कारणले अनुसन्धानबाट हत्याको कारण र हत्यारासम्बन्धी ‘क्लु’ पाउन कठिनाइ र ढिलाइ भएको पनि प्रहरीले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको