October 18, 2026, Sunday
KN hd tv

११३८ मा फोन गरेर बजेटबारे सुझाव दिन अर्थ मन्त्रालयको आह्वान

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको छ।

आगामी आबको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधिबाहेकका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल  फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको हो। 

मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ। त्यस्तै मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन’मा क्लिक गरेर पनि सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ। मन्त्रालयले इमेलमार्फत पनि सुझाव दिन सकिने व्यवस्था गरेको छ।

बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्त्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक बिषयबस्तुहरु चैत मसान्त भित्र लिखित वा मौखिक (टेलिफोन) रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयले अहिले कृषि, शिक्षा, बैंक, वित्तीय संस्था तथा बिमा क्षेत्र, निजी क्षेत्र, अर्थविद्लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिसकेको छ।

मन्त्रालयले हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव संकलन गरिरहेको छ।

शीर्ष समाचार

धेरै पढिएको