May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

हेलिकप्टरबाट मेलम्ची र हेलम्बुकाे अवस्था (तस्बिरहरू)

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका गरी १७ घर बगेका छन् । बाढीले रेडियो मेलम्चीको भवन पनि ढलेको छ । 

गएको असार १ गते आएको बाढीले लेदो भरिएका घरहरू हिजाे शनिवार रातिको बाढीले बगाएको हो । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । 

अब मेलम्ची बजारदेखि माथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो । ‘पहिरोको जोखिम घटने स्थिति छैन । तत्कालका लागि मेलम्ची करिडोरका बासिन्दालाई तत्काल सुरक्षित ठाउँमा सार्नुको विकल्प छैन, भीमथाङबाट लेदोसहितकाे पहिराे बग्ने क्रम जारी छ’ , उहाँले भन्नुभएकाे छ ।

चनौटेको रातो पुल र ग्यालथुममा रहेको झोलुङ्गेपुलसहित नाै वटा पक्की र आठ वटा कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।  

बाढीग्रस्त क्षेत्रको मुहान अवलाेकन गरेर काठमाण्डाै फर्किनुभएका गाउँपालिकाका अध्यक्षले यसबारेमा गृह मन्त्री बालकृष्ण खाँडलाई जानकारी गराइसकेकाे र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर जानकारी गराउने बताउनुभएकाे छ ।  

शीर्ष समाचार

धेरै पढिएको