कांग्रेस पदाधिकारी बैठक: पार्टीको १४औँ महाधिवेशन तालिका अघि बढाउने विषयमा छलफल
काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तालिका अघि बढाउने विषयमा छलफल गर्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार बस्ने पदाधिकारी बैठकमा कोरोनाका कारण प्रभावित भएको १४औँ महाधिवेशनको कार्यतालिका अघि बढाउने बारेमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसबाहेक कोरोना रोकथाम र उपचारमा थप प्रभावकारी काम गर्न सरकारलाई दबाब दिने बारेमा समेत छलफल हुने बताइएको छ। कांग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टीका मातहत निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो।
तालिकाअनुसार गत २०७६ फागुनदेखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेको थियो।
उक्त कार्यतालिकाअनुसार जिल्लामा क्रियाशील सदस्यता फाराम पुर्याउने काम भए पनि कोरोनाका कारण वितरण र नवीकरण कार्य भने प्रभावित भएको थियो।
प्रतिकृया दिनुहोस्