काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको अनुशासनहीनता र अराजकताप्रति कडा आपत्ति जनाएका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधि र विधानविपरीत चल्ने जोसुकैलाई अनुशासनको दायरामा ल्याइने स्पष्ट चेतावनी दिएका छन्।
अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै चलाइएका हस्ताक्षर अभियान र चर्चालाई अराजकताको पराकाष्ठा भनेका छन्। पार्टी कार्यालयको क्यान्टिनमा चिया-समोसा खाँदै नेतृत्व फेर्ने कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्दै उनले विरोधीहरूले प्रहार गरिरहेको बेला आन्तरिक कलहमा अल्झिनु आत्मघाती हुने बताए। अब बस्ने केन्द्रीय कमिटीको बैठकबाट पार्टीलाई दृढ अनुशासनका साथ अगाडि बढाइने बताउँदै उनले सामाजिक सञ्जालमार्फत पार्टीको बदनामी गर्ने कार्य तत्काल रोक्न समेत निर्देशन दिएका छन्।
सोही क्रममा अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको दाबीसमेत गरेका छन्। पार्टी पंक्तिलाई आन्तरिक विवादभन्दा बाहिर βेर एकजुट भएर अगाडि बढ्न उनले आह्वान गरे।
