काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णयलाई समर्थन गर्दै आफ्ना सबै सम्पत्ति विवरण औपचारिक रूपमा बुझाएका छन्। उनी बुधबार स्वयम् केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालयमा पुगेर उक्त विवरण पेस गरेका हुन्।
डा. भट्टराईको सचिवालयका अनुसार सार्वजनिक पदमा रहेका वा नरहेका व्यक्तिहरू सधैँ पारदर्शिता र जबाफदेहिताप्रति प्रतिबद्ध हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमै चरितार्थ गर्न यो कदम चालिएको हो।
सरकारले थालेको सम्पत्ति छानबिन अभियानलाई सहयोग पुर्याउने उनको यो अग्रसरतालाई राजनीतिक वृत्तमा सुशासनको पक्षमाथिको एक सकारात्मक र अर्थपूर्ण कदमका रूपमा लिइएको छ।
