काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलको रेड नोटिस जारी भएका फरार प्रतिवादी आशिष बुढाथोकीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार सिन्धुली कमलामाई नगरपालिका–२ चियाबारीका २७ वर्षीय बुढाथोकीलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो।
सिन्धुली जिल्ला प्रहरीले उनको खोजी गर्न अनुरोध गरेपछि एनसिबी काठमाडौंको आग्रहमा इन्टरपोल महासचिवालयले २०२५ फेब्रुअरी १४ मा बुढाथोकीविरुद्ध रेड नोटिस जारी गरेको थियो। पक्राउ परेका उनलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको छ।
