धादिङ । नीलकण्ठ नगरपालिकाले उपप्रमुखको नाम जोडेर सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा नगरपालिकाबाट हालसम्म भएका नीति, बजेट, योजना तथा समग्र कार्यसम्पादन प्रचलित कानून बमोजिम सर्वसम्मत रूपमा हुँदै आएको स्पष्ट पारिएको छ।
बजेट–नीति र समग्र कार्यसम्पादनका आधारमा नीलकण्ठ नगरपालिका राष्ट्रिय स्तरमै उत्कृष्ट स्थान हासिल गर्दै आएको अवस्थामा उपप्रमुखको हवाला दिँदै आएका समाचारहरू आधारहिन, पूर्वाग्रही तथा प्रतिशोध प्रेरित रहेको नगरपालिकाको ठहर छ। विज्ञप्तिअनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट २०८२ असार २० गते नगरसभाबाट नगर प्रमुख, उपप्रमुख तथा सम्पूर्ण सभा सदस्यहरूको हस्ताक्षरसहित सर्वसम्मत रूपमा स्वीकृत भएको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्वीकृत बजेट कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिइसकिएको अवस्थामा ‘कार्तिकमा नयाँ बजेट आएको’ भन्ने दाबी नियमसंगत नभएको स्पष्ट पारिएको छ। त्यस्तै नगरसभा तथा नगर कार्यपालिकाका बैठकहरू एजेन्डासहित सञ्चालन हुँदै आएको, छलफलबाट निर्णय हुने गरेको र हालसम्म कुनै पनि निर्णयमा असहमति (Note of Dissent) दर्ता नभएको अवस्थामा निर्णयकर्तामाथि लगाइएका आरोप खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ। खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्ड गठन र सञ्चालन संविधान तथा प्रचलित कानूनअनुसार नै गरिएको स्पष्ट गर्दै नगरपालिकाले गरिमामय पदमा रहेका व्यक्तिबाट सामाजिक सञ्जालमा गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद् भएको जनाएको छ।
सूचना प्रकाशन, विज्ञापन, खरिद प्रक्रिया तथा परामर्श सेवा लगायतका प्रशासनिक कार्यहरू कानूनअनुसार नै हुँदै आएको र कर्मचारीहरूलाई योगदानका आधारमा दिइएको प्रोत्साहनबारे अनावश्यक टिप्पणी गरी मनोबल गिराउने कार्य निन्दनीय भएको नगरपालिकाको भनाइ छ। नगरपालिकाले बजेट विनियोजन आवधिक योजना, योजना बैंक तथा उपलब्ध स्रोतका आधारमा गरिएको स्पष्ट पार्दै गलत प्रचारप्रति भ्रममा नपर्न नगरबासी, सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गरेको छ। साथै सत्यको पक्षमा रही जिम्मेवार पत्रकारिता गर्न सबै मिडियाकर्मीलाई नगरपालिकाले अपिल गरेको छ।



