काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले युवालाई कार्यकर्ता र दास मात्र मान्ने राजनीतिक प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री खरेलले भने, ‘वर्षौंसम्म एउटै व्यक्तिले दलमा पद ओगटेर बस्दा देश र पार्टीको हित हुँदैन । अब युवालाई केवल कार्यकर्ता र दासको रूपमा हेर्ने प्रवृत्ति समाप्त गर्नुपर्छ।’
मन्त्री खरेलले दलहरूमा एकै व्यक्तिको प्रभाव हाबी हुने र युवालाई निरुत्साहित गर्ने प्रवृत्तिका बारेमा आलोचना गरे । उनले युवाले आवाज उठाएर आफ्ना अधिकारको रक्षा गर्नुपर्ने जोड दिए। ‘यदि मागेर कुरा नहुने हो भने, खोसेर लिनुपर्ने समय आएको छ,’ उनले भने।
मन्त्री खरेलले थपे, ‘अहिलेका युवाहरू कुनै वादको बन्धक बनेर बस्ने छैनन्। नेपाली राजनीति अब परिवर्तन हुँदैछ र युवाहरूको जबरजस्त उपस्थिति हुने छ।’
उनीले मुलुकको परिवर्तनका लागि जेनजी युवाहरूले निस्वार्थ संघर्ष गरेको र भ्रष्टाचारविहीन सरकारका लागि आन्दोलन गरेको उल्लेख गरे ।

