काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरमा सूचीकृत : १८३ पुग्यो एक्यूआई, बाक्लो तुवाँलोले ढाकियो उपत्यका

काठमाडौँ । राजधानी काठमाडौँको वायु प्रदूषणको स्तर बिहीबार बिहान पुनः तीव्र गतिमा बढेर विश्वकै तेस्रो प्रदूषित सहरको सूचीमा पुगेको छ। वायु गुणस्तर अनुगमन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरको पछिल्लो मापनअनुसार उपत्यकाको वायु अत्यधिक अस्वस्थकर बनेको पाइएको हो।

बिहीबार बिहान ८:४५ देखि ९:४५ बजेको रेकर्ड अनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (यूएस एक्यूआई) १८३ पुगेको छ। यसअघि बुधबार बिहान १७२ एक्यूआई रेकर्ड भएकोमा २४ घण्टा नबित्दै प्रदूषणको स्तर थप उकालो लागेको हो। उपत्यकाभर बाक्लो तुवाँलो लागेका कारण टाढाका दृश्यहरू धमिलो देखिएका छन् भने हावाको गुणस्तर संवेदनशील वर्गका लागि मात्र नभई सम्पूर्ण नागरिकका लागि हानिकारक बन्दै गएको छ।

सूचीअनुसार पाकिस्तानको लाहोर ३२५ एक्यूआईसहित विश्वको पहिलो स्थानमा र बङ्गलादेशको ढाका २५६ एक्यूआईसहित दोस्रो स्थानमा छन्। काठमाडौँले १८३ अङ्कसहित छिमेकी भारतको दिल्ली (१८२) लाई समेत पछि पार्दै तेस्रो स्थान ओगटेको छ। त्यसैगरी कराँची १६७ एक्यूआईसहित पाँचौँ र कायरो १६५ एक्यूआईसहित छैटौँ स्थानमा सूचीकृत भएका छन्।

उपत्यकाको भौगोलिक अवस्थिति र चिसो मौसमका कारण वायुमण्डलमा प्रदूषण थुप्रिँदै जाँदा आँखा पोल्ने र श्वासप्रश्वासमा कठिनाइ हुने जस्ता समस्याहरू देखिन थालेका छन्। स्वास्थ्य विज्ञहरूले यस्तो अवस्थामा बिहानीपखको हिँडडुल र खुला ठाउँमा गरिने शारीरिक व्यायाम कम गर्न तथा आवश्यक सुरक्षा सतर्कता अवलम्बन गर्न सर्वसाधारणमा अनुरोध गरेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा