काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज घरघरमा गोवर्धन पूजा, हलगोरु तथा कृषि औजारको पूजाआराधना गरी मनाइँदैछ । यसै अवसरमा नेवार समुदायले आफ्नै शरीर र आत्मतत्त्वको सम्मान गर्दै म्ह पूजा मनाउँदैछन् भने नेपाल संवत्को नयाँ वर्ष अर्थात् न्हुदँया भिन्तुना आदानप्रदान गरी नयाँ वर्षको स्वागत गरिँदैछ ।
श्रीमद्भागवत गीता र विभिन्न पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार द्वापरयुगमा इन्द्रको क्रोधका कारण परेको मुसलधारे वर्षाबाट द्वारिकावासीलाई जोगाउन भगवान् श्रीकृष्णले कान्छी औँलाले गोवर्धन पर्वत उठाएका थिए । पछि इन्द्रले आफ्नो गल्ती महसुस गरी माफी मागेको र श्रीकृष्णले गोवर्धन पर्वतको पूजा गर्ने विधि बसालेका थिए । सोही मान्यताअनुरूप आज आँगनमा गाईको गोबरको थुप्रो बनाएर गोवर्धन पर्वतको स्वरूपमा पूजा गर्ने चलन छ ।
यसै दिन परम्परागत कृषि कर्मको आधार मानिएका हलगोरु, हली र औजारहरूको समेत विशेष सम्मान गरिन्छ । श्रावणमा रोपाइँदेखि हिउँदमा बाली थन्क्याउनेसम्म किसानको सारथि बन्ने गोरुलाई माला, अबिर र टीका लगाएर बावर (चामलको रोटी) र मिठो खानेकुरा खान दिइन्छ । साथै हलो, जुवा, फाली र हँसिया जस्ता औजारहरूको पूजा गरी कृषि कर्मप्रति निष्ठा प्रकट गरिन्छ ।
अर्कोतर्फ, नेवारी परम्परामा ‘म्ह’ को शाब्दिक अर्थ शरीर हुने भएकाले देहभित्रको आत्मतत्त्वलाई शान्ति र ऊर्जा प्रदान गर्न म्ह पूजा गरिन्छ । अष्टदल चक्र र मण्डपमा दीप प्रज्वलन गरी फलफूल र सुकुन्दासहित आत्मपूजा गर्ने यो परम्परा विश्वमै अनुपम मानिन्छ । यता लक्ष्मीपूजाको भैलोपछि आजबाट सुरु भएको देउसीको भाकाले नेपाली गाउँसहर गुञ्जायमान बन्दै सांस्कृतिक उत्सवलाई शिखरमा पुर्याएको छ ।

