काठमाडौँ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार सम्पन्न दुवै खेलले प्रतियोगिताको अंकतालिकामा ठूलो फेरबदल ल्याएको छ । उत्कृष्ट लयमा रहेको काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गर्दै लिगको शीर्ष स्थान कब्जा गरेको छ भने अर्को खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनको फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
कीर्तिपुरको मैदानमा साँझ सम्पन्न दोस्रो भिडन्तमा काठमाण्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवन राइनोज निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रनमा रोकियो । चितवनका लागि रवि बोपाराले आक्रामक ५५ रन बनाए पनि काठमाण्डुका बलरहरूको अनुशासित बलिङ सामु लक्ष्य भेटाउन सकेन । काठमाण्डुका सहल राचिगेले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले ८ विकेट गुमाएर १८० रनको सम्मानजनक योगफल तयार पारेको थियो, जसमा राशिद खानले २८ बलमा ५२ रनको विस्फोटक इनिङ्स खेलेका थिए । यो सानदार जितसँगै काठमाण्डु ५ खेलमा ४ जितसहित ८ अंक बटुलेर तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
दिउँसो भएको पहिलो खेलमा भने पोखरा एभेन्जर्सका ब्याट्सम्यानहरूको आक्रामक ब्याटिङ हाबी रह्यो । युवराज सम्राको ४८ बलमा १०२ रनको शतकीय प्रहार र कुशल भुर्तेलको ६२ रनको मद्दतमा पोखराले ३ विकेट गुमाएर २१७ रनको विशाल स्कोर खडा गर्यो । जवाफी ब्याटिङमा उत्रिएको कर्णाली याक्स १८.३ ओभरमा १५४ रनमै समेटिन पुग्यो । पोखराका मेहेदी हसनले ३ विकेट लिँदै कर्णालीको इनिङ्स धराशायी बनाए । यस ऐतिहासिक जितसँगै अंकतालिकामा खाता खोलेको पोखराले प्लेअफको गणितीय सम्भावना कायमै राख्दा लगातार दोस्रो हार बेहोरेको कर्णाली याक्स भने ४ अंकमा सीमित हुँदै सातौँ स्थानमा खस्किएको छ ।

