नेपाली कांग्रेसमा विवाद गहिरियो: सभापतिकै हैसियतमा देउवाद्वारा वडा अधिवेशनमा सहभागी हुन आह्वान

काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले नयाँ मोड लिएको छ। पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अझै पनि पार्टी सभापतिकै रूपमा प्रस्तुत गर्दै समानान्तर महाधिवेशनअन्तर्गत वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन नेता तथा कार्यकर्ताहरूप्रति सार्वजनिक अपिल जारी गरेका छन्। संस्थापन इतर पक्षद्वारा निर्धारित १५औँ महाधिवेशनको वडा अधिवेशन सुरु हुनुठीक अघि उनको यो आह्वान बाहिर आएको हो।

देउवाद्वारा जारी अपिलमा पार्टीको करिब आठ दशक लामो गौरवपूर्ण इतिहास र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका संघर्षलाई संस्थागत गर्न यो महाधिवेशन निर्णायक हुने उल्लेख छ। उनले मुलुकभरका ६ हजार ७ सय ४३ वटै वडामा विधि र प्रक्रियासम्मत रूपमा हुन गइरहेको अधिवेशनमा उच्च मनोबलका साथ जुट्न आग्रह गरेका छन्। साथै, पार्टीभित्रका आन्तरिक मतभेदहरूलाई यसै महाधिवेशनमार्फत हल गरी कांग्रेसलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

यसअघि देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिसकेको छ। आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्दै ७७ वटै जिल्लामा छुट्टै निर्वाचन अधिकृतहरू खटाइएपछि कांग्रेसभित्रको आधिकारिकता र वैधानिकताको विवाद झन् पेचिलो बन्दै गएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा