काठमाडौँ : पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिम प्रदेशका ठूला विकास आयोजनाहरू प्रभावित भएका छन्।
निर्माण व्यवसायीहरूले आफूसँग मौज्दात रहेको इन्धन प्रयोग गरेर काम अघि बढाइरहेका भए पनि मूल्यवृद्धि र इन्धन अभावका कारण आयोजना सञ्चालनमा कठिनाइ भएको बताएका छन्।
सेती राजमार्गको दक्षिण खण्डको काम समेत बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख रामकुमार देवले जानकारी दिएका छन्। उनका अनुसार डोटी, अछाम र कैलालीमा विभिन्न प्याकेजमा काम भइरहेको भए पनि हाल निर्माण कार्य प्रभावित बनेको छ।
इन्धन मूल्यवृद्धिपछि धेरै निर्माण व्यवसायीहरूले काम अगाडि बढाउन नसकिने भन्दै सम्बन्धित कार्यालयमा निवेदन दिन थालेका छन्।
त्यस्तै, सुदूरपश्चिमको महत्त्वपूर्ण आयोजना महाकाली सिँचाइ तेस्रो चरण तथा महाकाली कोरिडोर सडक योजना पनि प्रभावित भएको छ। कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्मको ४२५ किलोमिटर कोरिडोर निर्माण भइरहेको भए पनि महँगीका कारण काम रोकिएको निर्माण व्यवसायीहरूले बताएका छन्।
महाकाली कोरिडोर सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाका अनुसार इन्धन र बिटुमिनलगायत निर्माण सामग्रीको मूल्यवृद्धिले परियोजनामा असर परेको छ।
निर्माण व्यवसायीहरूले मूल्य समायोजन नभएसम्म काम गर्न नसकिने भन्दै सरकारसँग तत्काल मूल्य समायोजनको माग गरेका छन्।

