काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा, प्रतिनिधिसभा निर्वाचनमा चुनावी गठबन्धन गर्न तिव्र दौडधुप बढाएका छन् । अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साथ संवाद जारी राखेका छन् ।
एमाले उच्च स्रोतका अनुसार आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र एमाले गठबन्धन गरेर जाने सहमति नजिक पुगेको छ । तर कांग्रेसले एमाले वा नेकपा कुन दलसँग मिल्ने भन्ने विषयमा निर्णय गरेको छैन। कांग्रेसका एक पदाधिकारीका अनुसार पार्टीले दुवै दलसँग संवाद गरिरहेको छ। राष्ट्रियसभा चुनावमा नेकपा आफैँ जित्न नसक्ने तर जोसँग मिल्यो त्यतै परिणाम निस्कने अवस्था छ।
यता एमाले अध्यक्ष ओलीले कांग्रेस सँगै प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहकार्यको लागि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि गोप्य भेट गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । देउवा निवास महाराजगन्जमा महासचिव शंकर पोखरेलका साथ गएका ओलीले राष्ट्रिय सभाको गठबन्धन र प्रतिनिधिसभा पुनस्थापनाको विषयमा छलफल गरेका थिए ।
यही चुनावको लागि एमाले अध्यक्ष ओलीले सोमबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि गोप्य भेट गरेका थिए । स्रोतका अनुसार ओली र प्रचण्डविच दुई नेताबीच राष्ट्रिय सभा, प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको बिषयमा छलफल भएको थियो ।
गठबन्धन नभए एमालेको राष्ट्रिय सभामा हालको १० सिट घटेर दुईमा सीमित हुने जोखिम देखिएको थियो । एमालेका ८ जना फागुन २० गतेदेखि बिदा हुँदै छन् ।
राष्ट्रिय सभाको वर्तमान समीकरणमा नेकपा सबैभन्दा ठूलो दल बनेको छ । यसअघि माअोवादी केन्द्र १७ सदस्यसहित ठूलो दल रहेकामा एकीकृत समाजवादीसँगको एकतापछि ५९ सदस्यीय राष्ट्रिय सभामा उसको संख्या बढेर २६ पुगेको छ । एमालेका ८, नेकपाका ८, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) , नेपालको १र १ र स्वतन्त्र सांसद बामदेव गौतमको पदावधि सकिन लागेको हो ।

