रविलाई ‘विश्वास गर्न नसकिने’ निष्कर्षमा पुगे बालेन, अब आफ्नै पार्टी हाँक्ने

काठमाडौं : काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘विश्वास गर्न गाह्रो’ भएको बताएका छन् ।

सोमबार राति रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच काठमाडौंको कमलपोखरीमा लामो छलफल भएको थियो । सो छलफलपछि यी दुई उदयमान नेता मिलेको समाचार आइरहँदा बालेनले भने रविलाई विश्वास गर्न नसकिने निष्कर्षसहित आफ्नै ‘देश विकास पार्टी’ हाँक्ने ठहर गरेको उनका निकटस्थहरूले बताएका छन् ।

लौरो चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीको नेतृत्व आफूले सम्हाल्ने तयारीमा बालेन पुगेको उनी निकट एक नेताले बताए ।

बालेन निकट ती नेताका अनुसार रविका दुईवटा कुराबाट उनले रविलाई विश्वास गर्न सकेनन् । पहिलो, सोमबार राति भएको भेटवार्तामा रविले बालेनलाई रास्वपा प्रवेशको प्रस्ताव राखेका थिए ।

रविले भनेका थिए, ‘हाम्रो संरचना छँदैछ। हामी देशका सबै ठाउँमा पुगिसकेका छौँ। हाम्रो सबैथोक छ। तपाईंले सहयोग गर्नुस्। त्यसपछि तपाईंको पनि पालो आइहाल्छ। अहिले म सभापति छँदैछु ।’

रविको यो अभिव्यक्तिले बालेनलाई असहज बनाएको थियो ।

दोस्रो, रविले चितवन पुगेर बोलेको कुराले बालेनलाइ अझ झस्कायो।

मंगलबार चितवन पुगेका रविले बालेनलाई प्रधानमन्त्री दिएर जाने विषयमा छलफल नभएको बताएका थिए।

‘हामी त्यसमा प्रवेश गरेका छैनौँ। पहिले त थाहा पाउनुप‍र्‍यो। कुराकानी हुनुपर्‍यो,’ उनले भने, ‘के कस्तो छ भन्ने बुझ्नु प‍र्‍यो। एकअर्कासँग परिस्थितिबारे जानकारी लिनुप‍र्‍यो। विस्तारै राजनीतिक कुरामा हामी प्रवेश गर्छौं ।’

यो अभिव्यक्तिले बालेन बिच्किएको उनी निकटस्थहरू बताउँछन्।

‘भित्र एउटा कुरा गर्ने, बाहिर अर्को कुरा गर्ने भनेर मेयर साबले भन्नुभयो। यो त फोहोरी कुरा पो भयो त,’ ती सहयोगीले थपे, ‘विश्वास गर्न गाह्रो व्यक्ति रहेछन्। भित्र एउटा, बाहिर अर्को गर्ने। सूचनाको गोपनीयता केही नरहने। गाह्रै रहेछ भन्नुभयो। विश्वास गरिहाल्न सकिने सम्भावना कम हुने रहेछ भन्ने बुझाइ छ।’

यसपछि आफ्नै अगुवाइमा गठन भएको पार्टी चलाउने निष्कर्षमा उनी पुगेका हुन्।

‘यता नपर्खने कसैलाई पनि, अब आआफ्नो तयारी गर्ने भन्नुभयो, आफ्नै पार्टीबाट समानुपातिक उम्मेदवारको नाम पनि तयार पार्ने काम भइरहेको छ,’ बालेनका निकट सहयोगीले भने ।

उनका अनुसार बालेन आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न चाहन्छन् । संविधानमा सामान्य संशोधन गरेर अगाडि बढ्ने उनको लक्ष्य छ । बाहिर हल्ला गरेजस्तो कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्थालाई बालेनले रुचाएका छैनन् ।

सोही अनुसार आफ्ना निकटस्थहरूसँग छलफल गरेर उम्मेदवारहरूको चयनमा लागेको बताइएको छ ।

बालेनको अगुवाईमा गठन भएको ‘देश विकास पार्टी’ले लौरो चुनाव चिह्न पाएको छ । बालेन काठमाडौंको मेयरमा स्वतन्त्र रुपमा जित्दा पनि यही चुनाव चिह्न थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा