काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ललितपुरमा भेटघाट जारी छ ।
वार्ता भइरहँदा घरबाहिर जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङ पनि उपस्थित छन्। उनले दुई नेता नमिलेसम्म गेट नखोल्ने बताएका छन्। ‘हाम्रो दुई जना नेताहरू भित्र हुनुहुन्छ,’ गुरुङले भने, ‘जबसम्म उहाँहरू मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन।’
गुरुङले आफू गेटमै बसेर कुरिरहेको बताए। ‘ढोका थुनेर लक लगाएर राखेको छु,’ उनले भने, ‘जबसम्म मिल्दैन तबसम्म निस्कन पाउँदैन भनेर।’
रवि र बालेनबीच केही दिनअघि काठमाडौँको कमलपोखरीमा करिब ६ घण्टा लामो भेटवार्ता भएको थियो । तर त्यस भेटमा लामिछानेको तर्फबाट ठोस प्रस्ताव नआएको भन्दै बालेनले अन्य नेताहरूसँग छलफल अघि बढाएका थिए ।
बालेनले लौरो चुनाव चिह्न रहेको देश विकास पार्टीबाटै राजनीति अघि बढाउने गृहकार्यसमेत गरिरहेका छन्। तर त्यसअघि रवि लामिछानेसँगको छलफल टुङ्गोमा पुर्याउने चाहना बालेनको रहेको स्रोतले जनाएको छ।
निकट स्रोतका अनुसार रविले बालेनलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीका रूपमा अघि सार्ने ठोस प्रस्ताव गरिसकेका छैनन् । बालेन भने संसदीय दलको नेता र प्रधानमन्त्री सुनिश्चित हुने स्पष्ट सहमति चाहन्छन्।
आजको छलफलले दुई नेता मिलेर अघि जाने वा छुट्टाछुट्टै बाटो रोज्ने भन्ने टुङ्गो लाग्ने निकटहरूले बताएका छन्।

