October 27, 2024, Sunday
KN hd tv

पशुपतिमा थप ३ वटा शवदाह यन्त्र निर्माण हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा पशुपतिनाथमा शवदाह यन्त्र बनाइने बताए ।

काठमाडौँ महानगरपालिका संम्पदा संरक्षण, पार्क तथा हरियाली प्रवद्र्धनसँगसँगै पूर्वाधार निर्माण र सामाजिक कार्यक्रमा पनि उत्तिकै सक्रिय छ,’ शाक्यले भने, ‘अब छिट्टै काठमाडौँ महानगरपालिकाको करीब १५ करोडको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा गृहको निर्माण कार्य अघि बढ्ने भएको छ ।’

प्रमुख शाक्यले केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण कार्यको थालनी हुने जानकारी दिए । ‘हामीले दुई–तीन चरणका छलफल सम्पन्न गरिसकेका छौँ,’ शाक्यले भने, ‘अब सम्झौताको चरणमा पुगेका छौँ । काठमाडौँ महानगरपालिकाले बजेट र नीति तथा कार्यक्रममा समेत पशुपति क्षेत्र परिसरलगायतका स्थानमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माण गर्ने कुरालाई समावेश गरेको छ । त्यसै अनुरुप हामीले पहिलो चरणमा पशुपति क्षेत्र परिसरमा निर्माण गर्न लागेका हौँ ।’

शाक्यले पशुपति क्षेत्रमा थप तीन ओटा विद्युतीय शवदाह यन्त्र निर्माणपछि त्यहाँ शवदाहका लागि लामो समयसम्म पालो कुर्नु पर्ने वाध्यताको अन्त्य हुने अपेक्षा लिएको बताए ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले पनि काठमाडौँ महानगरपालिकाले विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिए ।

शीर्ष समाचार

धेरै पढिएको