कांग्रेसका पूर्व पदाधिकारीहरूको गोप्य छलफल: महाधिवेशन र सहकार्यबारे एकमत खोजी

काठमाडौं — सत्ता साझेदार नेपाली कांग्रेसका प्रभावशाली पूर्व पदाधिकारीहरू आइतबार सानेपास्थित पूर्व उपसभापति गोपालमान श्रेष्ठको निवासमा गोप्य छलफलमा जुटेका छन्। छलफलमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण सिटौला, डा. शशांक कोइराला र डा. प्रकाशशरण महत सहभागी थिए।

नेताहरूबीच पार्टीको आसन्न १५औं महाधिवेशन, क्रियाशील सदस्यताको नवीकरण प्रक्रिया, र समसामयिक राजनीतिक परिस्थितिबारे गहन छलफल भएको बताइएको छ। नेताहरूले विशेषगरी महाधिवेशनमा कसरी आपसी सहकार्य गरेर अघि बढ्ने भन्नेबारे विचारविमर्श गरेका थिए।

पूर्व महामन्त्री सिटौलाका अनुसार छलफल झन्डै एक घण्टा चलेको थियो। उनले भने, “पार्टीको आन्तरिक स्थिति र देशको राजनीतिक चुनौतीबारे चिन्ता व्यक्त गर्दै बृहत् एकता जरुरी रहेको निष्कर्षमा पुगिएको छ। सभापतिलाई भेटेर यिनै विषयमा ध्यानाकर्षण गराउने तयारी छ।”

कांग्रेसभित्र हाल १५औं महाधिवेशनको तयारी तीव्र छ। तर सभापति शेरबहादुर देउवा विधानअनुसार तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न नमिल्ने भएपछि उनको पक्षबाट सभापतिका लागि कसले उम्मेदवारी दिने भन्ने अन्योल कायमै छ। देउवा अहिलेसम्म खुलासा नगरेपछि उनको समूहभित्र नेताहरूबीच नेतृत्वका लागि दौड बढ्दो छ।

यसअघि फागुन २ गते देउवाकै निवास बूढानीलकण्ठमा संस्थापन पक्षका ११ नेताहरूले भेट गरेर सभापतिका उम्मेदवार छान्न आग्रह गरेका थिए। तर देउवा हालसम्म मौन रहेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा