काठमाडौं – नेकपा (एमाले)का सचिव तथा सांसद गोकर्ण विष्टले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति सहयोगी बनेको आशंका व्यक्त गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै विष्टले प्रचण्डका अभिव्यक्तिले प्रतिगामी शक्तिलाई मलजल गरेको बताए। उनले संविधानको मर्मअनुसार भूमिका निर्वाह गर्नुपर्ने नेताले देशव्यापी रूपमा निराशा, अराजकता र वितृष्णा फैलाउने अभिव्यक्ति दिएको आरोप लगाए।
विष्टले पूर्वराजाको हौसला बढ्नुमा प्रचण्डका गतिविधि पनि कारक हुनसक्ने बताए। उनले सत्ता र प्रतिपक्षमा रहँदा दोहोरो चरित्र देखिएको आरोप लगाउँदै, तीनपटक प्रधानमन्त्री बनेका प्रचण्डले आफ्ना निर्णयको जस र अपजस लिनुपर्ने उल्लेख गरे।
प्रचण्डले सरकारको ड्राइभिङ सिटमा बिचौलिया रहेको अभिव्यक्तिप्रति कटाक्ष गर्दै विष्टले भने, “बिचौलियाबारे पटक–पटक कुरा उठाउनु सर्पले सर्पको खुट्टा देखेझैं भएको त होइन?”
उनले राजतन्त्र पुनःस्थापनाको कुरा ‘मृगतृष्णा’ मात्र भएको दाबी गर्दै लोकतान्त्रिक संविधानलाई सुदृढ गर्न सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।
