बर्दिबास — जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ। सोमबार सीके राउतको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विचार र सिद्धान्त मिल्ने अन्य पार्टीहरूसँग पनि एकीकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
कार्यदलमा अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी रहेका छन्। बैठकले संगठन विस्तारलाई तीव्रता दिने, भातृसंगठनहरूको गठनलाई प्रवर्द्धन गर्ने र विविध वर्ग, समुदाय, उमेर समूह तथा व्यवसायिक क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
साथै, सशक्त आन्दोलनका लागि युवादस्ता गठन र प्रशिक्षणमा विशेष जोड दिने तथा प्रदेशलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक कानूनी पहल गर्ने निर्णय पनि भएको छ।
