काठमाडौँ । गृह मन्त्रालयले एक सहसचिव र तीन उपसचिवलाई निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (ख)(१) विपरीत अतिरिक्त समूह (जगेडा)मा राखेको पाइएको छ।
ऐनको सो दफामा लामो बिदामा रहेका, निलम्बन भएका वा अन्यत्र काजमा खटिएका बाहेकका कुनै पनि निजामती कर्मचारीलाई जिम्मेवारी नदिई महिनाभन्दा बढी अवधिसम्म राख्न नमिल्ने व्यवस्था छ। तर, गृह मन्त्रालयमा हाजिर गरेको दुई महिना पुग्दासम्म पनि एक सहसचिव र तीन उपसचिवले जिम्मेवारी पाएका छैनन्।
सहसचिव बन्धुप्रसाद बास्तोला गत पुस २६ गते मन्त्रालयमा हाजिर भएका थिए। सोमबार उनको हाजिरीको ६० दिन पूरा भइसकेको छ, तर उनी अहिलेसम्म कुनै जिम्मेवारीविहीन छन्। त्यस्तै, उपसचिवहरू खेमराज ओझा (कात्तिक ४), कैलाशबहादुर ठकुराठी (मंसिर ५) र अमरदिप सुनुवार (मंसिर १७) पनि ६० दिनभन्दा बढी समयदेखि जिम्मेवारी नपाएर जगेडामै रहेका छन्।
त्यसैगरी, सहसचिव प्रेमप्रसाद भट्टराई र उपसचिव सहदेव रायमाझी पुस २७ गते मन्त्रालयमा हाजिर भएका थिए। मंगलबार उनीहरूलाई पनि ६० दिन पूरा हुँदैछ, तर जिम्मेवारी दिने कुनै संकेत देखिएको छैन।
यसका अतिरिक्त गृह मन्त्रालयमा १४ सहसचिव र दुई उपसचिव अझै जगेडामै रहेका छन्। जगेडामा रहने सहसचिवहरूमा रामकृष्ण अधिकारी, नारायणप्रसाद रिसाल, भविश्वर घिमिरे, बलराम रिज्याल, लक्ष्मण ढकाल, दीपकराज नेपालसहित अन्य छन् भने उपसचिवहरूमा अञ्जनकुमार न्यौपाने रहेका छन्।
निजामती सेवा ऐनको दफा १८ (ख)(२) अनुसार ऐनविपरीत जिम्मेवारी नदिई राखेमा जिम्मेवारी दिनुपर्ने पदाधिकारीलाई विभागीय कारबाहीको व्यवस्था गरिएको छ। सहसचिवलाई सरुवा गर्ने र जिम्मेवारी दिने अधिकार विभागीय मन्त्रीलाई हुन्छ, जहाँ हाल रमेश लेखक गृहमन्त्री छन्। उपसचिवलाई सरुवा गर्ने र जिम्मेवारी दिने अधिकार गृहसचिवलाई हुन्छ, जहाँ हाल गोकर्णमणि दुवाडी छन्।
