मन्त्री अधिकारी : सरकारविरुद्ध गलत प्रचार गरिँदैछ

मध्यविन्दु — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारविरुद्ध भ्रमपूर्ण प्रचार गर्न खोजिएको आरोप लगाएका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा आयोजित कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सवको उद्घाटन गर्दै उनले सरकारका असल कार्यबाट आत्तिएका केही समूहले गलत भाष्य निर्माण गरिरहेको बताए।

‘प्रमुख दुई दलको गठबन्धन सरकारले सबै कुरा बिगारेको जस्तो गरी केही समूहले भ्रम फैलाइरहेका छन्,’ मन्त्री अधिकारीले भने, ‘तर, यो सरकार जनताको हितमा काम गर्ने प्रतिबद्धतासहित अघि बढेको छ। २०८४ सालसम्ममा आर्थिक समृद्धिको आधार तय हुनेछ।’

उनले आर्थिक मन्दी अन्त्य गर्न कृषि उत्पादन वृद्धि गर्दै बजारीकरणको जिम्मा सरकारले लिने योजना बनाइसकेको जानकारी दिए।

‘हामी समृद्धिको ढोका खोल्ने संकल्पसहित सरकारमा आएका हौँ,’ उनले भने, ‘गाउँगाउँमा समृद्धि ल्याउन कृषि क्षेत्रबाट के गर्न सकिन्छ भन्नेबारे सरकार गम्भीर छ, प्रगति सबैले अनुभूति गर्नेछन्।’

कृषकले घाटामा जाँदा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले कृषि क्षेत्रको व्यवस्थापनका लागि मन्त्रालय पूर्ण रूपमा तयार रहेको उल्लेख गरे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा