काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली सनराइजर्स हैदराबादले इङ्गल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर ब्रायडन कार्सको स्थानमा दक्षिण अफ्रिकाका अलराउन्डर वीआन मुल्डरलाई अनुबन्ध गरेको छ।
चोटका कारण कार्सले यस संस्करण गुमाउने भएपछि हैदराबादले मुल्डरलाई ७५ लाख भारतीय रुपैयाँमा टोलीमा भित्र्याएको हो। यो मुल्डरको पहिलो आईपीएल सिजन हुनेछ।
दक्षिण अफ्रिकाका लागि उनले ११ टी–२०, १८ टेस्ट र २५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ६० विकेट लिनुका साथै ९७० रन बनाइसकेका छन्।
आईपीएलको १८औं संस्करण आगामी मार्च २२ देखि सुरू हुँदैछ। उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु भिड्नेछन्। १० टोली सहभागी प्रतियोगिताको फाइनल खेल मे २५ मा हुनेछ।
