October 22, 2024, Tuesday
KN hd tv

रिलिजको चार दिन अघि नै ‘घरज्वाइँ’को प्रिमियर

काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘घरज्वाइँ’को मङ्गलवार नै प्रिमियर शो को आयोजना गरिएको छ। कमलपोखरीस्थित बिग मुभिजमा आयोजित भव्य प्रिमियर शोमा उपसभामुख इन्दिरा राना मगर, निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्माता तथा निर्देशक अपिल विष्ट लगायतका चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो।

उपसभामुख राना मगरले मगर सम्प्रदाय भित्रको रहन सहन र संस्कृति उठान गरेको कारण चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिइन्। रुकुमको तकसेरा क्षेत्रको कथा उठान गरेको चलचित्र हेरेपछि उनले आफू पनि पश्चिमबाट नै बसाई सरेर पूर्व पुगेको स्मरण गरिन्।

यस चलचित्रका अभिनेता दयाहाङ राईले ‘घरज्वाइँ’ मगर संस्कृति रहेको बताए। उनले भने, “संस्कृतिमाथि मेरो रुचि छ। हरेक संस्कृतिहरूलाई म मरो क्षमताले भ्याएसम्म बुझ्ने कोसिस गर्छु। अझ मैले गर्ने काममा नै यी कुराहरू आउँदा त म एकदमै खुसी छु। मैले नढाँटी भन्दा चाहिँ म मगर संस्कृतिबाट निकै नै टाढा नै हो। मेरो जिल्ला र गाउँमा नै मगरहरू निकै कम हुनुहुन्छ।” अभिनेत्री मिरुना मगरले आफू मगर भए पनि अन्य समुदायमा हुर्केको र यस चलचित्रमा काम गरिरहँदा हामी मगरहरूको संस्कृति कति धनी रहेछ भनेर बुझ्ने अवसर पाएको बताइन्।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन्। पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको यसका निर्देशक अनिल बुढा मगर हुन् भने निर्माता जनक घर्ती मगर हुन्। यसमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ।

शीर्ष समाचार

धेरै पढिएको