काठमाडौँ । इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा मंगलबार एकै दिन ठूलो संख्यामा इरानमा रहेका आफ्ना नागरिक स्वदेश फर्किएको दाबी गरिएको छ ।
‘इरानमा वर्षौंसम्म शरणार्थीको रूपमा बिताएपछि मङ्गलबार दुई हजार ७७८ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् र शरणार्थी बनेर बसेका अरुलाई देशमा फर्काउने प्रक्रिया जारी छ,’ विज्ञप्तिमा भनिएको छ ।
झण्डै २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थी इरानमा र त्यति नै संख्यामा पाकिस्तानमा बसोबास गर्दछन् । अफगानिस्तान युद्ध र तालिवानले सत्ता सम्हालेपछि पनि सुरक्षाको समस्या देखाउँदै ठूलो संख्यामा अफगानी नागरिक विदेश पलायन भएका छन् ।
अफगानिस्तानको कामचलाउ तालिबान सरकारले विदेशमा रहेका अफगानी शरणार्थीहरूलाई स्वदेश फर्कन र आफ्नो देशको पुनर्निर्माण प्रक्रियामा योगदान गर्न आह्वान गर्दै आएको छ ।

